हेटौंडा, ८ साउन ।
जनताले विश्वास गरेको कम्युनिष्ट पार्टीले जताको भने विश्वास जित्न नसकेको कम्युनिष्ट नेताहरुले बताएका छन् ।
४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो बिषयक प्रवचन कार्यक्रमका कम्युनिष्ट वक्ताहरूले यस्तो बताएका हुन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले साउन ३ गते ठूलै षड्यन्त्र गर्न खोजिए पनि त्यसलाई परास्त गरिएको बताउनुभएको छ ।
नेता नेपालले जसरी पनि शेरबहादुर देउवाको सरकारले विश्वासको मत नपाओस् भनेर गम्भीर षड्यन्त्र गरिएको भएपनि त्यसलाई असफल पारिएको बताउनुभयो । नेता नेपालले आफूहरुले संविधान र न्यायपालिकाको गरिमाको रक्षा गरेको बताउनुभयो ।
नेता नेपालले एमालेको सांसद संख्या १२१ बाट घट्दाघट्दा ८३ मा पुगेको पनि टिप्पणी गर्नुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताका अघि कम्युनिष्ट पार्टी पनि चुकेको बताउनुभएको छ ।
उहाले अरु प्रतिक्रियावादीको विश्वास पहिल्यै गुमेको अवस्थामा कम्युनिष्ट पार्टीले पनि जनताको विश्वास जित्न नसकेको बताउनुभयो ।
यस्तै नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाललाई सत्ताको मोह त्यागेर कोर्स चेन्जको बाटोमा लाग्न सुझाव दिनुभएको छ ।
वैद्यले अहिलेकै संसदबाट कति चोटि प्रधानमन्त्री हुने आश गरेको भन्दै कोर्स चेन्जको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।
प्रचण्ड र माधव नेपालप्रति संकेत गर्दै वैद्यले प्रधानमन्त्री बन्ने लोभ छाड्न र जनताको हित सोच्न आग्रह गरे ।
यसैगरी नेकपा एमाले पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टी परिकल्पना गर्न सकिने बताउनुभएको छ ।
उहाँले पुष्पलालले मेहेनत गरेर स्थापना गरेको पार्टी जस्तै कम्युनिष्ट पार्टीको आवश्यकता भएको बताउनुभएको छ ।
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका युवा पुस्तालाई बाँदर बनाएर सडकमा उतार्दैमा कम्युनिस्ट आन्दोलन उचाइमा नपुग्ने टिप्पणी गर्नुभएको छ । यो घटना नेतृत्वको गलत सोचाइ, व्यवहार र संस्कारको उपज भएको उहाले बताउनुभयो ।
नेतृ शाक्यले पार्टीको र सिँगो राष्ट्रको नेतृत्व लिनका लागि भूमिका खेल्ने संस्कारको विकास गर्नु जरुरी रहेको बताउनुभयो ।
कम्युनिष्ट आन्दोलन भित्र बेलाबेलामा देखिने दक्षिणपन्थी सोच, व्यक्तिवादी सोच, अवसरवादी सोच, गुटवादी सोच, विचारलाई तिलाञ्जली दिने सर्वसत्तावादी सोचले गर्दा कम्युनिष्ट पार्टी संकटमा परेको उहाँको भनाइ थियो ।