हेटौंडा, ८ साउन ।
बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरिएको छ । बागमती प्रदेशका सवारी साधनहरूको अनलाइन प्रविधिबाट राजश्व भुक्तानी गर्न स्थापना गरिएको सो प्रणालीको मुख्यमन्त्री डोरमणि पौडेलले आज एक समारोहका बिच शुभारम्भ गर्नुभएको हो ।
मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयाँलको मोटरसाइकलको उक्त प्रणालीलाई मार्फत राजश्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
बागमती प्रदेशमा अब यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत दिइने सेवाहरू अनलाइन प्रणालीमार्फत पाइने भएको छ । यसले अब सवारीसम्बन्धी कामका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
योसँगै आजबाट सवारी साधनको लाइसेन्स र ब्लुबुक नवीकरण, बीमालगायतका काम अनलाइनबाटै हुने छन् । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अनलाइन पेमेन्ट सिस्टम प्रविधिको प्रयोग गरी नयाँ प्रविधिको उद्घाटन गर्नुभयो ।
सेवाग्राहीको लागि सहज बनाउन प्रदेश सरकारले नयाँ प्रविधि प्रयोगमा ल्याएको भन्दै मुख्यमन्त्री पौडेलले भ्रष्टाचार रोक्नका लागि प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सेवा दिन शुरू भएको बताउनुभयो । अब यातायात क्षेत्रका सबै समस्या सामाधान हुँदै जाने र नयाँ प्रविधिमा केही असहजता आए पनि त्यसलाई मिलाएर लैजाने बताउनुभयो ं ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री रामेश्वर फुयालले अब यातायातको सबै काम घरमा नै बसेर गर्न सकिने बताउनुभयो । उहाले बागमती प्रदेश सरकारले सेवाग्राहीलाई सहज होस् भनेर सबै काम अनलाइनबाट नै हुने गरी अनलाइन प्रणालीको शुरू गरेको छ र प्रदेश सरकारले अब विद्युतीय गाडी सञ्चालनलाई पनि प्राथमिकता दिने बताउनुभयो ।
वागमती प्रदेश सरकारको यातायात कार्यालयको वेबसाइटमा गएर यातायात सम्बन्धी सबै काम गर्न सकिने छ । अनलाइन भेटघाट, सवारी नामसारी, सवारी बीमा, आफूले तिर्नु पर्ने करको जानकारी त्यहीँबाट पाउन सकिन्छ ।
अनलाइनबाट कर तिर्दा र बीमा गर्दा प्राप्त क्यूआर कोर्ड सवारीसाधनमा टाँसेर वा बोकेर हिँड्न सकिने छ । ट्राफिक प्रहरीले पनि त्यही क्यूआर कोर्ड प्रयोग गरेर सवारी चेकजाँच गर्न सक्ने छन् ।