हेटौंडा, ८ साउन । गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण आजदेखि जापानको टोकियोमा सुरु हुँदैछ । अघिल्लो वर्ष नै सम्पन्न हुनुपर्ने यो खेलकुद महामेला कोरोना महामारीका कारण १ वर्ष सरेको हो ।
अप्रत्यासित रुपमा १ वर्ष थप तयारीको समयसहित २ सय ७ देशका ११ हजार ३ सय खेलाडीले अबको दुई साता टोकियोमा प्रतिस्पर्धा गर्नेछन् । लामो समयदेखि गरेको तयारीको आधारमा पदक जित्न प्रयासरत हुनेछन् ।
सन् २०२० को मार्च महिनामै ओलम्पिक १ वर्ष पार्ने निर्णय गरिएको थियो । तर अहिले पनि कोरोना महामारी पूर्ण रुपमा साम्य भइसकेको छैन । अध्याँरो सुरुङबाट प्रकाशको किरणका रुपमा ओलम्पिक उद्घाटनमा प्रदर्शनी गरिनेछ ।
महामारीको समयमा ओलम्पिक आयोजना गर्न लागेकोमा जापानीहरु खुसी नभएको समयमा उद्घाटन समारोहलाई भव्य बनाउँदै आफ्ना नागरिकको मन जित्ने प्रयासमा आयोजक रहेको छ । उद्घाटन समारोहमा भीआईपी पाहुनाहरु १ हजारभन्दा कमको संख्यामा रंगशालामा उपस्थित हुनेछन् ।
ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् । पौडीकी गौरिका सिंहले दोस्रोपल्ट ओलम्पिक खेल्दैछिन् ।
गौरिकासहित पौडीकै एलेक्स साह, शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट जापान पुगिसकेकी छन् भने एथलेटिक्सकी सरस्वती चौधरी आइतबार जापान प्रस्थान गर्नेछिन् । उनको खेल ढिला भएकाले उद्घाटन समारोह गुमाउनेछिन् ।