भीमसेन पौडेल
हेटौंडा, ६ साउन ।
विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण र उद्धारमा रानी सामुदायिक वन उपभोक्ता समूहले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । पछिल्लो समयमा रानी सामुदायिक वनको क्षेत्रभित्र सालक उल्लेख्य मात्रमा देखिन थालेको छ ।

असार महिनामा ३ वटा सालकको उद्धार गरेको समूहले श्रावण महिनाको ५ गते फेरि सालकको उद्धार गरेको छ । राती करिव ९ बजे स्थानीय उमेश बस्नेतले आफनो बारीमा भेटेको सालक वन समूहले समूहद्वारा निर्माण गरेको सालक केजमा छाडिएको वन समूहका उपाध्यक्ष केशव धितालले बताउनुभयो ।

अत्यन्त लजालु स्वभावको सालकले धमिरा र कमिला खाएर जीवनयापन गर्दछ । वन समूहले २०६२ सालदेखि सालकको संरक्षण गर्दै आएको छ । समूहले सालकको संरक्षण, यसको फाईदा, कानूनी प्रक्रिया, जनचेतना लगायतका कामहरु गर्दै आएको छ । २०७७ सालको जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार पाएको यस समूहले सालकको उद्धार तथा सहयोग गर्ने उपभोक्ता, व्यक्तिहरुलाई सम्मान गर्ने गरेको कारण यसको संख्यामा वृद्धि हुदै गएको बताइएको छ ।

वन समूहले डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भू–परिधि कार्यक्रम लगायतका संघसंस्थाहरुसँग समन्वय गरेर सालक सम्बन्धि काम गरिरहेको छ । रानी सामुदायिक वनले वन्यजन्तु, वनडढेलो नियन्त्रण, कार्यालय व्यवस्थापन लगायतका क्षेत्रहरुमा राम्रो काम गर्दै आएको डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत अच्युत प्रसाद उपाध्यायको भनाई छ । वन क्षेत्रमना करिव डेढ दर्जन सालक रहेको समूहले जनाएको छ ।