हेटौंडा, ६ साउन ।


सशस्त्र प्रहरी गण रातोमाटेले आज कुष्माण्ड सरोवर त्रिवेणीधाम परिसरको सरसफाइ गरेको छ ।


बागमती प्रदेशअन्तर्गत गण नम्बर २ रातोमाटेका सशस्त्र प्रहरीले आज बिहान कुष्माण्ड सरोवर त्रिवेणीधाम क्षेत्रको सरसफाइ गरेका हुन् ।


प्रहरी सहायक निरीक्षक छविरमण बजगाइँको कमाण्डमा आएका २५ जना सशस्त्र प्रहरीले मन्दिर वरिपरिका झाडी फँडानी गर्नुका साथै मन्दिर आसपासका फोहोरहरू सफा गरेका थिए ।


प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सरसफाइ गरेको सहायक निरीक्षक बजगाइँले बताउनुभयो । उहाले यसअघि पनि विभिन्न मन्दिर परिसरको सरसफाइ गरेको बताउनुभयो ।

केही दिन अघि रातोमाटे प्रहरीगणका गणपति केदार खनाल मन्दिरमा आएर सरसफाइका लागि आफ्नो गणले सहयोग गर्ने बताउनुभएको थियो ।