हेटौंडा, ४ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभएको छ ।
देउवाको प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ जनाले मतदान गरेका छन् । मत दिन्न भन्ने पक्षमा १ मत परेको छ ।
सभामुख सापकोटाका अनुसार मतदानमा २४९ उपस्थित भएका थिए । प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका सांसदहरुले मत दिएका हुन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले समेत देउवालाई मत दिएका छन् ।
नेपाल पक्षका दश जनाले संसद बंक गरे । १० जनामध्ये गोकर्ण, योगेश र राजबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेर अदालत जानेमा पर्दैनन् । बाँकी अदालतसम्म गएका हुन् । उनीहरु सबैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् र ८ जना त एमालेका केन्द्रीय सदस्य नै छन् ।
बाहिरिनेहरूमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, झपट रावल र दिपकप्रकाश भट्ट रहेका छन् ।
ओलीलाई चुनौती दिँदै नेपाली कांग्रेसका देउवालाई २२ जना सांसदले भोट हालेका छन् । माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, विरोध खतिवडा,भवानी खापुङ,जीवनराम श्रेष्ठ,कल्याणी,खड्का,मेटमणि चौधरी,पार्वती विशुंखे,हिरा केसी,कृष्णकुमार श्रेष्ठ किसान,गोपाल बम,प्रेमबहादुर आले,लक्ष्मी चौधरी,निरादेवी जैरू,कलिला खातुन,सविना हुसेन,कृष्णलाल महर्जन,रामकुमारी झाँक्री,धनबहादुर बुढा,विना बुढाथोकी,सरला यादव, पुष्पाकुमारी कर्ण रहेका छन्
अन्तिम संवैधानिक विकल्पबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आइतबार विश्वासको मत पाएसँगै राजनीतिक अनिश्चय हटेको छ । देउवा नेतृत्वको सरकारले अब डेढ वर्षको कार्यकाल पूरा गर्न सक्ने अवसर पाएको छ भने सर्वोच्च अदालतले दुई पटक पुनःस्थापना गर्दा पनि जोखिममा पुगेको प्रतिनिधिसभाको पूर्ण जीवन सुनिश्चित भएको छ ।
वघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतबार विश्वासको मत लिएका हुन् ।