हेटौंडा, ३१ असार । मकवानपुरमा मानवअधिकार उलङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्ध–वार्षिक समिक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाबारे बिहिबार हेटौंडामा भएको छलफलमा यस्तो जानकारी गराइएको हो ।
गत पुस १ बाट असार ३० सम्म मकवानपुरमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका ४९ वटा घटनामा ५० जना मानिस पिडित भएका छन् । जसमध्य ४७ जना महिला र ३ जना पुरुष रहेको इन्सेक जिल्ला प्रतिनिधि पुष्प अधिकारीले बताउनुभयो । गत वर्ष २०२० मा जिल्लामा ६२ वटा मानवअधिकार उलङ्घनका घटना घटेका थिए । तर यसवर्ष छ महिनाको अवधिमा ४९ वटा घटनामा ५० जना पिडित बनेका छन् ।
कार्यक्रममा जिल्ला बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले मकवानपुरमा बालबिबाहका घटना व्यापक भएको बताउनुभयो । घटना भएपनि उजुरी भने नहुने गरेको उहाँको भनाई छ ।
यसैगरि सिविन नेपाल १०९८ मकवानपुर संयोजक झविन्द्र ज्ञवालीले बालबिबाहका घटनामा बालबालिका सम्वन्धी काम गर्ने संघसस्था, प्रहरी स्थानिय सरकारसँग समन्वय बढाउनुपर्ने बताउनुभयो । उहाँले प्रहरी बालबिबाहका घटना दर्ता नभएको कारण बालबिबाह छैन भन्न नमिल्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मानवअधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवापुरका संयोजक आरती पाठकले बालबिबाहले बहुबिबाह र सम्वन्ध विच्छेदलाई निम्त्याउने बताउनुभयो ।
उहाँले बालबिबाहलाई न्युनिकरण गर्न सकेमात्रै विभिन्न हिंसा, सम्वन्ध विच्छेद लगाएतका कार्यहरु पनि रोक्न सकिने जिकिर गर्नुभयो ।
यसैगरि माइती नेपालका माया लामाले अधिकारकर्मीहरुकै अधिकार खै ? भन्ने अवस्था आएको बताउनुभयो । उहाँले अनेकौँ लाल्छनाहरु लाग्ने गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्नुको उद्यश्यबारे प्रष्ट पार्नुभयो । कार्यक्रममा सहभागिहरुले मानवअधिकार उलंघनका घटना न्युनिकरण गर्न स्थानिय सरकार, जनप्रतिनिधि, प्रहरी, विभिन्न संघसंस्था लगाएत सबैको भुमिका हुने बताएका थिए ।