हेटौंडा, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच बिहीवार भेटवार्ता भएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेता नेपालको निवास कोटेश्वर जानुभएको हो । भेटमा अहिलेको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाले बताउनुभयो ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवासित पनि भेटघाट गर्ने तयारी रहेको नेता बाँस्तोलाले बताउनुभयो । एमालेभित्र अन्तर–द्वन्द्व बढिरहेकै बेला अहिले भइरहेको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ । हिजो विप्लवले प्रचण्डलाई उहाँकै निवास खुमलटारमा पुगेर भेट्नुभएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि एमालेभित्र फेरि विवाद बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालकै कारण पछिल्लो स्थिति सिर्जना भएकाले उहाँलाई एमालेमा कुनै ठाउँ नभएको टिप्पणी गर्नुभएको छ भने नेपाल पनि ओलीसँग एकताको पक्षमा सकरात्मक देखिनु भएको छैन ।