हेटौंडा, ३० असार । मकवानपुरको विभिन्न दुई स्थानबाट २०९ किलो लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१५ रातोमाटे र हेटौंडा–१९ नेवारपानीबाट दुई वटा ट्रकमा लुकाई छिपाइ ल्याएको २०९ किलो लागु औषध गाँजासहित तीन जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले विषेश सुचनाको आधारमा हेटौंडा–१५ रातोमाटेबाट बि.आर ०१ जी.जी ९४९५ नम्बरको भारतीय ट्रकबाट १६९ किलो लागूऔषध गाँजा बरामद भएको हो । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा हेटौडाबाट बारातर्फ जाँदै गरेको उक्त भरतीय ट्रकलाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको सो परिमाणको लागुऔषध गाँजा फेला परेको प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भारत मोतिहारीका गाडी चालक ३० वर्षिय रविन्द्र राय र सोहि ठाउँका सहचालक ३१ वर्षिय मुक्तार सैफिक छन् ।
यसैगरि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानी स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट हेटौडा आउँदै गरेको ना ६ ख ३७४१ नम्बरकोे कन्टेनर गाडीमा ४० किलो गाँजा बरामद गरेको हो ।

उक्त कन्टेनर गाडिसहित सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ४ का १९ वर्षिय दिपक गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता रिमालले बताउनुभयो ।
शक्तिखवर डटकमसँग कुरा गर्दै प्रवक्ता रिमालले प्रहरीले गाँजा नियन्त्रणलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले गाँजा नियन्त्रणमा स्थानिय सरकारले सोचेजति सहयोग गर्न नसकेको बताउनुभयो । यसमा स्थानिय सरकार बढि जानकार हुने हुँदा स्थानिय सरकार बढि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । गाँजा ओसारपसारमा विषेशगरि १८ वर्षदेखि ३० वर्ष उमेरसमुहका नागरिक बढी सक्रिय हुने गरेको प्रवक्ता रिमालको भनाई छ ।