हेटौंडा, ३० असार । कुनै एक समय थियो राजनीतिमा सबथोक छ भनेर लाग्ने । ज्यान दिएरै लाग्नेहरू थिए र छन् पनि । तर, पछिल्लो समयमा राजनीति पेशा हो कि सेवा भन्नेमा अन्यौल पैदा भएको छ । विगत दुई दशक राजनीतिमा होमिँदाको अनुभव अझै ताजा छ हेटौंडाका बालकृष्ण चौलागाईलाई । सक्रिय कार्यकर्ता भएर बिताएका दुई दशक, देशमा गणतन्त्र ल्याउन खेलेको भूमिका चौलागाईले भुलेर भुल्न सक्ने कुरै होइन । मान्छेले विगत झेलेर वर्तमानमा बाँच्ने हो, भविष्यको कुनै टुङ्गो छैन । हो यसको गतिलो उदाहरण हेटौँडाका चौलागाई हुनुुहुन्छ । उहाँ दुई दशक बढी राजनीतिमा सक्रिय भएर लाग्नुभएको व्यक्तित्व हो । अहिले उहाँको दैनिकी फेरिएको छ । विगत चार वर्षदेखि फूल खेतीमा तल्लीन चौलागाइँलाई वर्तमान राजनीति देखेर विरक्त लाग्छ । राजनीति जीवनको भोगाइ, स्वदेशी माटोको चिनारी, राजनीतिप्रतिको चेतना लगायत विषयमा सहकर्मी सम्झना श्रेष्ठले व्यवसायी चौलागाईसँग कुराकानी गर्नुभएको छ ।
लामो समय राजनीतिक जीवन बिताउनुभयो, अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले म कृषि कर्ममा आवद्ध छु । बेमौसमी तरकारी खेती र फूल खेती गरिरहेको छु । मैले विषेशगरी टमाटर लगाउँछु । अहिले कृषिबाट १ लाख सम्मको आम्दानी गरिरहेको छु । फूल खासगरी काठमाडौँमा धेरै माग हुन्छ तर, आफ्नै बजार हेटांडालाई मात्र व्यापारिक केन्द्र बनाएको छु । अन्य बाहिरी बजारको माग धान्न सकिरहेको छैन । अहिले यो कोरोनाको त्रासले भएको निषेधाज्ञाले फूलको माग रोकिएको छ । मैले आफुले बिक्रि पनि गर्छु र किसानबाट खरिद पनि गर्छु । चार पाँच कठ्ठामा लगाएको पर्याप्त हुँदैन त्यसकारण खरिद पनि गर्छु र बिक्रि गर्छु ।

तपाइँ राजनीति जीवन कस्तो रह्यो ?
निकै लामो समय २०४८ बाट राजनीतिमा लागेको हो । जनयुद्धमा सहभागी भएँ, देशमा गणतन्त्र ल्याउन योगदान गरेको छु । २०५४ सालदेखि ६४ सालसम्म व्यारेक मै रहेँ । त्यसपछि जिल्ला आएँ । आजभन्दा चार वर्ष अघिबाट कृषि पेशामा छु ।
वास्तवमा राजनीति के रहेछ, के बुझ्नुभयो ?
राजनीति भनेको पेशा होइन सेवा हो । तर, पछिल्लो समय राजनीतिलाई पेशा बनाउन थाले । राजनीति भनेको त त्याग हो, समर्पण हो यसलाई पेशा बनाउन मिल्दैन । यो देश कृषिप्रधान देश हो, त्यसैले अहिले म माटो खेलाउन लागेको छु । माटोसँग पसिनाहरू साट्न थालेको छु ।
एउटा कृषकलाई राजनितिक उतारचढावले कस्तो असर पार्ने रैछ ? कत्तिको मन दुख्ने रहेछ ?
खासगरी भन्नुपर्दा किसानलाई प्रभाव पर्ने धेरै कुराहरू छन् । किसानलाई समयमा मल बिउ नपाउने समस्या छ । या वर्तमान उतारचढावले झन बढी समस्या थपेको छ । जब धान रोप्ने बेला भयो मल पाइँदैन । भनेको बेला बिउविजन पाँइदैन । राजनीति अस्थिरताको कारण किसानमा, मजदुरमा पर्ने समस्या अनेकौँ छन् ।
हिजो जनयुद्ध लडेर ल्याएको गणतन्त्र, जनताले पाँच वर्षसम्म स्थिर, टिकाउ सरकारका लागि मत दिएर पठाए त्यसको खै सम्मान ? जनताको समस्यामा तत्काल लाग्नुपर्ने सरकार,हरेक कुरालाई सहयोग होस् भन्ने जुन अपेक्षा राखिएको थियो, तर अहिले त्यो देखिएन । मात्र कुर्सी जोगाउने प्रतिपक्षहरू सरकारमा कसरी जाने भन्ने रणनीति बुन्दैमा समय खेर गयो । राजनीतिमा अहिले जुन खिचडी पाकेको छ यसमा म मात्रै होइन कोही पनि सन्तुष्ट हुने खुसी हुने ठाँउ छैन । यसले स्वभाविक रुपमा विचलित बनाएको छ तर, मेरो आवश्यकता जुन बेला थियो त्यो बेला सहभागि भएँ अहिले कृषिमा युवालाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने हिसावले लागिरहेको छु । हिजो पनि मेरो आन्दोलन थियो अहिले पनि आन्दोलन निरन्तर छ । युवालाई खाडिमा जान नपरोस् देशमै केहि गरुन् भनेर राज्यले कसरी पहल गर्नुपर्छ भन्ने आन्दोलनमा लागेको छु ।
युवाहरूलाई खाडीमा जानबाट रोक्न सरकारले किन सकिरहेका छैन ? के भन्नुहुन्छ ?
युवाहरूले देशको माटो चिनेका छन् तर, राज्यले युवाहरूलाई देशमा राख्न सकेन । सरकारले सहुलियतमा ऋण पाउने, समयमा मल बिउ पाउने, आफुले उत्पादन गरेको सामग्रीको बजार पाउने भए कसलाई रहर हुन्थ्यो होला देश छाडेर जानलाई ? आफ्नो घर परवारसँग छुट्टिएर जान कसैलाई रहर हुँदैन । यो सरकारको निकम्मापन हो । विदेशबाट आएको रेमिटेन्सको लोभले युवालाई खाडीमा पठाउन गलत हो । यदि युवावर्गलाई स्वदेशमै रोजगारीको अवसर श्रीजना गर्न सके विदेशबाट आउने रेमिटेन्सभन्दा डबल सरकारलाई फाइदा हुने थियो ।
अहिले तीन तहको सरकार छ, यस बेला सरकारले किसानलाई कत्तिको सम्बोधन गरेको पाउनुभएको छ ?
साँच्चै भन्नुपर्दा पहुँचको आधारमा किसानले सहुलियत पाएका छन् । जसको पहूँच छ, जस्कोे माथिल्लो निकायमा बोली बिक्छ हो उनीहरुले पाउने हुन् । सच्चा किसानलाई राज्यले हेरेको छैन । वास्तवमा नेपालमा किसानको पहिचान हुनै सकेको छैन । सरकारले किसानलाई हेरेको भए विदेशबाट खाद्य सामग्री आयात हुने नै थिएन । अहिले पछिल्लो समय कतिपय स्थानिय तहले किसानका लागि राम्रो काम पनि गरेको छ । तर कतिपयले भने विकास निर्माणमा मात्र ध्यान दिएको पाइन्छ । अझैपनि सबै स्थानीय तहको प्राथमिकतामा कृषि पर्न सकेकै छैन ।
तपाइँ लामो समय राजनीतिमा होेमिएको मान्छे, तपाइँको चाँहि कत्तिको पहुँच पुग्यो ?
मेरो पहुँच पुग्यो पुगेन भन्दा पनि, राज्यलाई दोहन गर्नुपर्छ भन्ने पक्षमा म छैन । मैले मेरो घरबार चलाउन, मेरो परिवारको लागि म आफैँले श्रम गर्नुपर्छ भन्नेमा लागेको मान्छे हुँ । सबैभन्दा पहिले मैले मेहनत गर्नुपर्छ मैले अपेक्षा मात्र गरेर हुँदैन । तर, राज्यले गर्दिने न्युनतम कुराहरु चाँहि पुरा गर्नुपर्छ । यदि मेरो पहुँच पुग्थ्यो भने किन दुख गर्नुपथ्र्याे र ?