हेटौंडा, २९ असार । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी कार्यकाल पनि प्रतिनिधिसभा राम्ररी नचल्ने दाबी गर्नुभएको छ । सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले नयाँ बन्ने सरकार राम्ररी चल्नेमा आफूलाई शंका लागेको बताउनुभएको हो ।

सर्वोच्च अदालतले गरेको फैसलाप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधानको अपब्याख्या गरेको उहाँको आरोप छ । अदालतको आदेशबाट पदमुक्त हुनुभएका ओलीले मंगलबार देशवासीको नाममा संबोधन गर्दै आफ्ना बारेमा ‘कन्स्टिच्यूसन मोरालिटी’ को प्रश्न उठाइएको भन्दै अदालतको आलोचना गर्नुभयो ।

उहाँले सर्वाेच्चले गरेको निर्णयले लोकतान्त्रीक व्यवस्थालाई कत्तिको मर्यादित र व्यवस्थित बनाउने कुरा आगामी दिनमा देखिने बताउनुभयो । आफूलाई जनताले हटाएको होइन, अदालतको परमादेशबाट हटाइनु परेकामा दुःखेसो गर्दै ओलीले सर्वोच्च अदालतले संविधान संशोधन गरेर पछाडी फर्काइएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको डेढ करोड डोज खोप आउने सुनिश्चित भएको बताउनुएको छ । प्रधानमन्त्रीबाट विदाइ हुनुअघि सिंहदरबारमा सम्बोधन गर्दै कोभिडविरुद्धको डेढ करोड खोप सुनिश्चित भएको बताउनुभयो । निवर्तमान प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिएको आरोप समेत लगाउनुभयो ।