हेटौंडा, २६ असार ।
बागमती प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ । आज दिउसो ३ बजेका लागि बोलाइएको बैठक सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गर्नुभएको थियो ।
उहाले अब भोलि २७ गते दिनको ११ः३० बजे बैठक आह्वान गरिएको जानकारी दिनुभयो । प्रदेश सरकारले आगामी आव ०७८÷०७९ का लागि ल्याएको बजेटमा असन्तुलन रहेको, सरकारले संचारगृह चलाउन लागेको, विना पूर्वाधार विद्युतीय सवारी खरिच गर्न लागेको जस्ता विषयको विरोधमा प्रतिपक्षी दलले बैठक अवरुद्ध गर्दै आएका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दल माओवादी र नेपाली कांग्रेसका संसदीय दलका नेतासँग सदन सुचारु गर्न सहयोग गर्न आग्रह गर्नुभएको छ । आज दुई नेतासँग भेट गरी मुख्यमन्त्री पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।
उहाले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बनियाँसँग छलफल एवं वार्ता गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । छलफल सकारात्मक रहेको सचिवालयले जनाएको छ । छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विनाअवरोध सञ्चालन हुने मुख्य सचेतक दीपक निरौलाले बताउनुभ्रएको छ ।
बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उहाले जानकारी दिनुभयो ।