हेटौंडा, २६ असार । सरोकारवालाले गाउँ–गाउँसम्म जनचेतना फैलाएको दाबी गरे पनि अझै बालविवाह घटेको छैन ।गरिबी, शिक्षाको कमी, पारिवारिक चेतनाको अभावका कारण बालविवाह र कम उमेरमै आमा बन्नेको संख्या कम गर्न सरकारले बर्षेनी करोडौं लगानी गरे पनि व्यवहारिक कार्यान्वयन फितलो रहेको पाइएको छ ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांक अनुसार एक वर्ष अवधिमा मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको छ । बागमतीको १३ जिल्ला मध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर पाँचौं स्थानमा रहेको छ । सबैभन्दा बढी धादिङमा ६२.९, नुवाकोटमा ६२.५, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बागमतीको काठमाडौंमा भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह भएको उल्लेख छ । बालविवाह मात्र होइन, किशोरी अवस्थामै आमा बन्नेको संख्या पनि उत्तिकै छ ।

मकवानपुरमा सबैभन्दा बढी बालविवाह हुने क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिका हुन् । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । ऐनको उपदफा २ मा २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख छ । उपदफा ३ मा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ । सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । तर बागमती प्रदेश सरकारले भने २०७८ सम्म प्रदेशबाट बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । (साझा कुरा दैनिकबाट)