हेटौँडा, २६ असार । नेपालमा पनि यतिखेर भारी वर्षाको मौसममा धेरैलाई अत्यधिक गर्मी महसुस भइरहेको छ । कस्तो गर्मी भन्दै निथ्रुक्क भिज्नेहरुले यसलाई सामान्य नलिनुहोला । भारतीय सञ्चार माध्यमहरुका अनुसार, भारतमा यस्तो गर्मीले पछिल्लो ५० वर्षमा १७ हजार मानिसको ज्यान लिइसकेको छ । क्यानडाजस्तो एकदम चिसो मौसम भएको देशमा समेत यस्तो गर्मी महसुस अर्थात् हिटवेब अर्थात् लु ले २ सय भन्दा बढीको ज्यान लिइसकेको छ । गर्मीले पनि मानिसको ज्यान जान सक्छ र ? हेरौँ केही तथ्यः

तातो हावा अर्थात् लु । गरम हावामा धेरै समय बाहिर बस्नाले, चर्को घाममा काम गर्नाले शरीरमा अचानक गडबड देखिन सक्छ । यसले मन, मष्तिष्क र मांशपेशीहरुमा असर पुग्छ । मृगौलामा पनि असर पर्न सक्छ । गर्मीले शरीरमा अनेक समस्याहरु ल्याउँछ । तनावका कयौँ चरणहरु भोग्नु पर्ने हुनसक्छ ।

चर्को घाममा रहँदा शरीर पहेँलो हुन्छ र रक्तचाप कम हुँदै जान्छ । कहिलेकहीँ त बेहोस भएर लड्न पनि सक्छ । गर्मीमा काम गर्नेहरुको हात र खुट्टाको मांशपेशीमा चाँडै दुखाइ हुन्छ । शरीरमा सोडियम र क्लोराइड कम हुँदै जान्छ । शरीरमा पानी कम हुन जान्छ र पानी कम पिउनेहरुलाई चक्कर लाग्न सक्छ । थकान हुन्छ । शरीको तापक्रम बढ्न सक्छ । तापक्रम बढेर १ सय २ डिग्रीसम्म पुग्न सक्छ ।

गर्मीमा शरीरमा पर्ने भारले अनेक समस्या ल्याउन सक्छ । माथि उल्लेख गरेको अवस्था आउँदासम्म तपाईंले आफ्नो शरीरको ख्याल या उपचार गर्नु भएन भने अब शरीरमा अनेक समस्या आउन सक्छ । शरीर नै अनियन्त्रित हुनसक्छ । यस्तो बेला पानी कम पिउने र अत्यधिक मदिरा सेवन गर्नु भयो भने तपाईंलाई झन समस्या आउन सक्छ ।

तपाईंको मनस्थिति नै अर्को बनिसकेको हुन्छ, ससानो कुरामा पनि चिड्चिडाउने, बोल्न समस्या हुने, बेहोस हुने हुन सक्छ । केहीको शरीर सुख्खा हुन सक्छ, केहीलाई अत्यधिक पसिना पनि आउन सक्छ । टाउको दुख्न सक्छ ।
यस्तोबेला के गर्ने ?
१. चिसोमा बसौँ ।
२. शरीरका अतिरिक्त कपडाहरु हटाइदिउँ ।
३. शरीरमा पानी पट्टि बाँधिदिउँ ।
४. आराम गर्न दिउँ ।
५. निको नभए तुरुन्त अस्पताल लैजाउँ ।

कसरी बच्ने ?
१. कटनको कपडा लगाउँ ।
२. घाममा हिँड्दा छाता अनिवार्य प्रयोग गरौँ ।
३. पौष्टिक तत्व भएको पेय पदार्थ र पानी पिउँ ।
(एजेन्सीहरुको सहयोगमा)

तस्बिरः सुनसरीका कवि पत्रकार सुविद गुरागाईं, उहाँकै फेसबुकबाट लिइएको तस्बिरमा छाता ओढेर माइक्रोफोनमा बोल्दै ।