हेटौंडा, २५ असार ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले आगामी वर्षसम्ममा विद्युतीय बसका लागि तयारी पूरा गर्ने बताउनुभएको छ ।
उहाँले विद्युतीय बस खरिद, पूर्वाधार निर्माण तथा सञ्चालनका हरेक क्रियाकलापहरु पारदर्शी हिसाबले हुने बताउनुभयो । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री फुयाँलले विद्युतीय बस सञ्चालन कुनै बहाना वा कारण देखाएर रोक्नु नहुने धारणा राख्नुभयो ।
यसका लागि चार्जिङ स्टेशन, सुरुङमार्गको काम अघि बढ्ने बताउँदै बागमती प्रदेशलाई हरित प्रदेशको रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
मन्त्री फुयाँलले सरकारले हेटौंडा, भरतपुर, नुवाकोट, बालाजु नयाँ बसपार्क, धुलिखेल तथा काठमाडौंका दुईवटा यातायात व्यवस्था कार्यालय लगायतका स्थानमा चार्जिङ मेसिन राखी सुविधा सम्पन्न विद्युतीय बस सुलभ भाडा दरमा प्रदेशवासीको लागि सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले विद्युतीय सवारी सञ्चालनमा अवरोध भइरहेको सुन्दा शिक्षित युवा पुस्ता अचम्मित भएको बताउनुभएको छ । उहाँले वातावरणलाई गम्भिर असर गर्ने पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापित गरि वातावरण मैत्री नवीकरणीय उर्जाबाट चल्ने सवारी सञ्चालन गर्ने काममा अवरोध गरिए भावी पुस्ताप्रति अन्याय हुने बताउनुभयो ।
धादिङमा प्रदेश सरकारले निर्माण गर्न लागेको चार्जिङ्ग स्टेसनलाई लक्षित गरेर प्रदेश सरकारका पूर्वमन्त्री शालिकराम जम्कट्टेलले कुनैपनि अवस्थामा स्टेसन बन्न नदिने भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै मन्त्री फुयालले सरकारको उद्देश्य र योजनामा पूर्वमन्त्रीलाई सहमत गराएर पहिला धादिङमै स्टेसन बनाइने बताउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री फुयाँलले असार मसान्तभित्रै बजेट पास हुने दावी गर्नुभएको छ । विद्युतीय बस खरिद प्रक्रियालाई लिएर विपक्षी दलहरूले सदन चल्न दिएका छैनन् । भोलि शनिबारका लागि पनि प्रदेशसभा बैठक आह्वान गरिएको छ । पत्रकार सम्मेलनमा मन्त्री रामेश्वर फुयाँलले मन्त्रालयले आगामी वर्षमा गर्ने कार्यक्रमको बारेमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव संजीव वराल, महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।