पवन दुलाल, सदस्य, मकवानपुर कपडा तथा तयारी पोशाक व्यवसायी संघ
हेटौँडा, २५ असार । पहिलो चरणको कोभिड १९ का बेलामा मकवानपुरमा पूर्णरुपले लकडाउन भए पनि जनजीवन सहज थियो । अहिले दोस्रो चरणका बेला जोरबिजोर प्रणालीले सहजता भन्दा बढी समस्या निम्त्याएको भान भएको छ । असार मसान्त अर्थात क्लोजिङका बेला लकडाउन भइरहँदा किस्ता, घर भाँडालगायतका विषयले सबैलाई तनाव बढाएको छ । नेपाली उखान ‘खाए खा–नखाए घिच’को जस्तै अवस्था छ अहिले सबै ब्यापारीलाई अझ बढी कपडा व्यवसायीलाई ।
पहिलो लहरको कोरोनामा जेनतेन चलेकै थियो । हामी व्यवसायी उत्रिएकै थियौँ । दोश्रो लहरमा व्यापार व्यवसाय चौपट बनेको छ । पहिलो चरण केही खुकुलो महसुस गरेका थियौँ । यो पटक त बन्दप्रायः छ । अब तेश्रो लहरको चर्चा छ, यस्तै अवस्था हो भने आर्थिक वर्ष नै ८ महिनाको बनाउनु पर्छ । हरेक वर्ष ४ महिना कोरोनालाई छुट्याउनु पर्ने भयो । अहिले दैनिक १२–४ बजार खुलेको छ । सार्वजनिक यात्रुबाहक सवारी साधन खुलेका छैनन् । मानिस ट्रक र ट्रिपरमा बजार आएर किन्ने कुरा भएन । दिनभर पसलमा बालेको बिजुलीको पैसा पनि उठ्दैन ।
मानिसहरु किनमेलका लागि बजार झर्ने कुरा त छाडौँ स्थानीय मेडिकलमा औषधि किन्न जानसकेका छैनन् । लकडाउनले आर्थिक उपार्जनको अन्य जोहो छैन । यथार्थमा भन्ने हो भने गाँसबासकै समस्यामा जुध्न सकिरहेका छैनन् व्यवसायी । यस्तो अवस्थामा हेर्दै जाउँ, कति ब्यापारी त पलायनै हुने अवस्थामा पुग्छन् । हेटौंडा बजार एक हिसाबले गाउँको बजार हो । यहाँ गाँउका मानिस आए भने व्यापार हुने हो, अन्यत्रका मानिसको बजार वा यो ट्रान्जिटको बजार होइन । हामीलाई प्रशासनले पसल खोल्न दिएको समय भएन । दिउँसो १२ देखि ४ बजेसम्म पसल खोल्नु कुनै औचित्य छैन । यो समय सामान्य बेलामा त अफ समय हो भने अहिले त झन कोरोनाको कहर छ ।
मानिसको चहलपहल समय बिहान–बेलुकाकै समय हो । यो त प्रशासनले आँखामा छारो हाल्ने काम मात्र गरेको हो । बरु लकडाउनै राखिदिएको भए हुन्थ्यो भन्ने लाग्छ बेलाबेला । अहिले खुल्यो भन्दै घरबेटी भाडा माग्छन्, बैंकवाला खुलिसक्यो भन्दै ब्याज र किस्ताको तनाव दिइरहेका छन् । करवाला बेलैमा आएर कर तिर्न भनिरहेको छ र फाइनको डर देखाइरहेको छ । पार्टीवालाहरु पैसा खोइ भन्छन् । यो त झनै हामीलाई काटेको घाउमा नुन उपहार दिएझैँ भयो । पसल खोल्यो, व्यापार छैन । तनाव मात्र बढ्यो र सरकारले झनै बढाइदियो ।
बरु एउटै भाषा ठीक छ, यस्तो खोल्नु भन्दा प्रशासनले बन्द गराइदिए हुन्छ । प्रशासनले बजार खोल्ने प्रक्रियामै गएपछि सबैलाई एकैपटक खोल्न दिनु पर्दथ्यो । बिहान रासन किन्न, दिउँसो कपडा किन्न वा अन्य सामान किन्न भनेर मानिस बजार आइरहँदैन । सबै सधैँ सहजै खोलिदिएको भए सबैले आआफ्नो अनुकुलमा किन्थे, झनै बजारमा भिड कम हुन्थ्यो । र, सबैको ब्यापार धेरथोर हुन्थ्यो । सबै बाँच्न सक्थे । अहिले पनि हामीलाई बिहान ८ देखि २ बजेसम्मको सेड्युल हालिदिएको भए सबैले आआफ्नो सेड्युल मिलाएर आउँथे–किन्थे ।
हेटौँडामा कपडा व्यवसायीहरु करिब सातसय भन्दा माथि हामी संगठित छौँ । मनहरीमा करिब १ सय ५०, पालुङमा २ सय र अन्य स्थानमा करिब ३ सय जति ठूला ससाना कपडा व्यवसायी हुनुहुन्छ, उहाँहरुलाई समेट्ने प्रयासमा छौँ । सबैले बैंकबाट ऋण लिएरै काम गरिरहेका छौँ । त्यसैका आधारमा कर पनि तिरिरहेका छौँ । पहिलो लहरले हामीलाई ६ महिना धकेलेको थियो भने अहिले हामी १–२ वर्ष उठ्नै सक्दैनौँ । रेडिमेड कपडाको स्वदेशी माग बजारमा राम्रो छ । स्थानीय गार्मेन्टको राम्रो उत्पादन छ, यसले स्थानीय उत्पादन तथा आन्तरिक व्यापार व्यवसाय राम्रो हुँदै गएको थियो ।
कच्चा पदार्थको आयात हुन नसक्दा यस्ता ससाना गार्मेन्ट पनि निकै समस्यामा परेको त छदैँछ । उत्पादित सामग्रीको व्यापार हुनसकेको छैन । अहिले कोरोनाको संक्रमण दर घटेको भए पनि स्थानीय प्रशासनको एकलौटी दमन नीतिले लकडाउन थपिरहेको छ । अझ भन्नु नै पर्दा सिडियोको एकल बलले लकडाउन थपिएको हो । पछिल्लो समय लकडाउनको आवश्यकता नै थिएन । सिडियोले मउवासंघ, बैकर र अन्य सरोकारवालालाई राखेर कम्तीमा तीन महिना समयका लागि पहल गरिदिएको भए सबैले सिडियोको हाइहाइ गर्थे । यो त ‘सिडियोले नै खुल्यो, सबैले उठाउन लाग भने झैँ’ को अवस्था भयो । यो खुलाइ त हामीलाई भूतले खाजा खाने बेला झैँ भयो कि मसान्तपछि खोलिदिएको भए हुन्थ्यो कि त पूर्णरुपले असार १५ गतेदेखि नै खोलिदिएको भए व्यवस्थापन गर्न भ्याइन्थ्यो ।
हामीले राज्यलाई कर तिरिरहेका छौँ । आयातका नाममा, निर्यात र व्यापारका नाममा मात्र करिब एकदर्जन भन्दा बढी शीर्षकहरु छन्, ती शीर्षकहरुमा कर तिरिरहेकै छौँ । तर तेही करबाट तलब खाने प्रशासनिक हाकिमहरुको सपिङ भने नेपाल र भारतको सीमावर्ती बजारहरुमा भइरहेको लुकेको छैन । त्यही र त्यतिमै त्यस्तै गुणस्तरको सामान यहीँ स्थानीय बजारमा पाउदा पनि परदेशी मोहले छाडेको छैन । यहीबाट पनि स्पष्ट थाहा हुन्छ कि, स्थानीय निकाय अर्थात् निजामती कर्मचारीले हामीलाई र कर तिर्नेवालालाई कति माया गर्नु हुन्छ भनेर ।
(शक्ति एफएफ १०३.४ मेगाहर्जको बागमती समाचारका प्रसारित सामग्रीका आधारमा तयार पारिएको सामग्री)