हेटौंडा, २५ असार ।
नेपाल शिक्षक महासंघ मकवानपुरले आज शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय मकवानपुरमा धर्ना दिँदै छ । बिहान बिहान १० बजे दिउसो १ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको शिक्षक महासंघ मकवानपुरले जनाएको छ ।
नेपाल शिक्षक महासंघले विभिन्न माग राख्दै गरेको चरणबद्ध आन्दोलन अन्तर्गत आज देशभरका शिक्षा विकास तथा समन्वय इकाइृका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ । आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले धर्ना दिन लागेको महासंघले जनाएको छ ।
महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी र महासचिव लक्ष्मीकिशोर सुवेदीले वैशाखमै विज्ञप्ति जारी गर्दै चरणबद्घ आन्दोलन गर्दे आएको छ ।
संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्घि गर्ने लगायत माग महासंघले राखेको छ ।
यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्घको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि शिक्षक महासंघले राखेको छ ।
महासंघले पहिलो चरणका कार्यक्रमअन्तर्गत वैशाख २० गतेदेखि ३१ सम्म शिक्षा मन्त्रालय, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय इकाई हुँदै स्थानीय सरकारसमक्ष विरोधपत्र बुझाएको छ ।