हेटौडा, २२ असार ।
हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव ०७७÷०७८ को सामुदायिक वन तर्फको उत्कृष्ठ पुरस्कार प्राप्त गरेको छ । डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत इमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले रानी सामुदायिक वनलाई उत्कृष्ठ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।


समूहले सामुदायिक वनको मार्गदर्शन बमोजिम वन व्यवस्थापन र समूह परिचालन, निर्णय प्रक्रिया, सुशासन, सामाजिक विकास तथा पारदर्शितामा नतिजामूलक कार्य गरेकाले पुरस्कार प्रदान गरिएको सहायक वन अधिकृत बसन्तराज गौतमले बताए । पुरस्कारको राशी ५० हजार रहेको छ ।

यसअघि समूहले २०५७ सालको सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार, २०५४ सालमा वन संरक्षण युवा पुरस्कार, २०६० सालमा वनदेवी पुरस्कार र २ पटक जिल्ला स्तरीय प्रथम पुरस्कार प्राप्त गरेको समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताए ।


राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत चर्चित रानी सामुदायिक वनमा अवलोकन गर्न धेरै देहशरुबाट मानिसहरु आउने गरेका छन । सालक संरक्षणमा अव्बल मानिएको यो समूहले सालक केज समेत बनाएको छ । ब्लक नं. ६ लाई पर्यापर्यटकको रुपमा विकास गराउन शान्तिटोल विकास संस्थासँग मिलेर काम गरिरहेको समूहले जनाएको छ ।


यसैगरि डिभिजन वन कार्यालय, मकवानपुरले यस वर्षको कबुलियती वन तर्फको पुरस्कार बागमती गाउँपालिका वडा नं. ७ मा रहेको सुनगाभा कबुलियती वन समूहलाई प्रदान गरेको छ । पुरस्कारको राशी ३० हजार रहेको छ ।