हेटौँडा, २१ असार । पूर्वी चितवनको राप्ती नगरपालिका पछिल्लो २० घण्टा यता निकै अशान्त छ । केही दिनदेखि अपहरणमा परेको आशंका गरिएका राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

आइतबार साँझ फेला परेको उपेतीको शव सोमबार निकालेर अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयले नाराबाजी गर्दै भण्डाराको डडुवामा राजमार्ग अवरुद्ध गरेका हुन् ।

युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गरेका छन् । लकडाउनको बेवास्ता गर्दै सर्वसाधारण सडकमा निस्केपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । भिडियो स्रोतः निर्देशन त्रिपाठी