हेटौँडा, २० असार । नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुरको राक्सिराङस्थित परेवाभिरको बाँकी निर्माण कार्य तत्काल शुरु हुने बताउनु भएको छ ।
मकवानपुरको बहुचर्चित परेवाभिरमा बाटो बनाउने कामको ठेक्का पाएको बानियाँ निर्माण सेवाले काम गरिरहँदा असारको तेस्रो साता आएको बाढीले क्षति पु¥याएको छ । असार मसान्तसम्म काम सक्नु पर्नेमा समयमा काम भएन, बाढीले बनिरहेको पूर्वाधारको केही भाग बगाएको छ । यति मात्रै होइन, यो वर्षदेखि वर्षायाममा ज्यान जोखिममा पारेर सर्वसाधारणले हिँड्नु पर्थेन भन्ने आसा पनि थियो ।
‘काम त १८ महिना म्यादको हो, यो वर्ष मौसम पनि यस्तै भयो, बनेका पूर्वाधारमै क्षति पुगेको छ, परेवाभिरमा क्षति पुग्दा र सर्वसाधारणले सुविधा नपाउँदा दुःखी छु,’ प्रदेश सभा सदस्य बानियाँले भन्नु भयो, ‘भएको क्षति सबै सहँदै माहौल बन्नासाथ काम शुरु गर्नेछु, राक्सिराङ गाउँपालिका र केन्द्र तथा प्रदेश सरकारलाई परेवाभिर निर्माणमा थप कुनै भार पर्ने छैन ।’
बानियाँले वर्षायामअगावै बाटो बनाउने योजना असफल हुँदा सर्वसाधारणले सास्ती पाएको स्वीकार्दै भन्नु भयो, ‘कहिलेकहीँ सोचेजस्तो काम हुँदैन, यो वर्षायाममा सर्वसाधारणलाई सुविधा दिन नसिकएकोमा दुःखी छु ।’