बागमती प्रदेशसभाको बैठक भोलि सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आज हेटौँडामा बसेको सर्वदलीय बैठकले विनियोजित बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक भोलिदेखि सुचारु गर्ने निर्णय गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।
उक्त बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका नेता रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी हुनुहुन्थ्यो ।
भोलि बस्ने प्रदेशसभाको बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले सरकारले ल्याएको बजेट विनियोजितमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने, प्रतिपक्ष दलहरुले उठाएको सरोकारको विषयमा स्पष्टिकरण दिने र प्रतिपक्षहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक निरौलाले बताउनुभयो ।