हेटौंडा, २० असार ।

बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । विपक्षी सांसदले अवरुद्ध पारेपछि हिजो स्थगित भएको बैठक आज बिहान ११ बजे बस्ने कार्यक्रम रहेको छ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०७८–७९को बजेटमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

हिजो विपक्षी दलहरूले सरकारले पक्षपाती ढंगले बजेट ल्याएको, बजेट पुस्तिकामा न्यायोचित वितरण नदेखिएको र प्रदेश सरकारले आफै सञ्चारगृह चलाउने विषय फिर्ता लिनुपर्ने लगायतका विषयलाई लिएर बैठक अवरुद्ध गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान बजेट पूर्वाग्रही ढंगले विनियोजन गरेको, सुरूङमार्ग र विद्युतीय बस सञ्चालनबारे बजेट वक्तव्यमा उल्लेख गरिएको विषय हटाउनुपर्ने तथा प्रदेश सरकारले आफै संचारगृह चलाउन नहुने लगायतका विषयलाई मुद्धा बनाएर विरोध जनाएको थियो ।

नेपाली कांग्रेसले विपदको चपेटामा परेको सिन्धुपाल्चोकलाई सरकारले झुक्याएको, प्रदेश सरकारको ध्यान विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेता र कार्यकर्तामा बजेट छर्न मात्रै व्यस्त रहेको आरोप लगाएको थियो ।