हेटौंडा, १९ असार ।
बागमती प्रदेशसभाको आज बसेको बैठक विपक्षी दलहरूले अवरुद्ध पारेका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसद अवरुद्ध गरेका हुन् ।
आर्थिक वर्ष २०७८–७९ को बजेटमाथिको छलफल प्रारम्भ भएलगत्तै विपक्षी दलका शीर्ष नेताहरुले बोलेर बैठक अवरुद्ध पारेका हुन् ।
सरकारले पक्षपाती ढंगले बजेट ल्याएको, बजेट पुस्तिकामा न्यायोचित वितरण नदेखिएको र प्रदेश सरकारले आफै संचारगृह चलाउने विषय फिर्ता लिनुपर्ने लगायका विषयलाई लिएर नेकपा माओवादी र नेपाली कांग्रेसले संसद अवरुद्ध गरेका हुन् ।
वैठकमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले स्थानीय तहमा जाने सशर्त अनुदान बजेट पूर्वाग्रही ढंगले विनियोजन गरेको आरोप लगाउनुभयो । उहाले सशर्त अनुदानको बजेट नसच्याएसम्म छलफल अघि नबढ्ने बताउनुभयो ।
उहाले सुरूङमार्ग र विद्युतीय बस सञ्चालनबारे बजेट वक्तव्यमा उल्लेख गरिएको विषय हटाउन माग गर्नुभयो । ऐन नै नभएको अवस्था र देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा प्रदेश सरकारले आफै संचारगृह चलाउन नहुने जम्मकट्टेलले बताउनुभयो ।
कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपदको चपेटामा परेको सिन्धुपाल्चोकलाई सरकारले झुक्याएको बताउनुभयो । बानियाँले प्रदेश सरकारको ध्यान विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेता र कार्यकर्तामा बजेट छर्न मात्रै व्यस्त रहेको बताउनुभएको छ ।
प्रदेश सरकार त्यसतर्फ जिम्मेवार हुन नसकेको हो भने आफुले त्यसको नेतृत्व लिएर विपद् व्यवस्थापनको काम गर्ने नेता बानियाँको भनाई छ ।
नेता बानियाँले प्रदेश सरकारले संसद् र सांसद्हरुलाई झुक्याउँनलाई बजेट कार्यक्रम विवरणको पुस्तक २ प्रकारको प्रकाशन गरी संघिय सरकारको सिको सिकेको प्रमाणित भएको बताउनुभयो ।
बैठकमा विवेकशील साझाका सांसद रमेश पौड्यालले विधि र प्रक्रिया विपरीत बजेटका २ वटा पुस्तक छापेर अनधिकृत काम भएको बताउनुभयो । उहाले वजेट वक्तव्यका दुईवटा पुस्तक प्रकाशित गरेर संसदको अवहेलना गरेको भन्दै मुख्यमन्त्रीसँग जवाफ माग गर्नुभयो । प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्न खोजेकामा पनि सांसद पौड्यालले आपत्ति जनाउनुभयो ।
सांसद सुरेन्द्रराज गोसाईले प्राकृतिक विपद र कोभिड–१९ को मारमा परेका जनतालाई बजेटले सम्बोधन गर्न नसकेको बताउनुभयो । प्रदेश सरकारले सञ्चारगृह चलाउने र विद्युतीय बस सञ्चालन गर्नेबारे वृहत् छलफल आवश्यक रहेको उहाको भनाइ छ ।
विपक्षी सांसदले संसद वैठक अवरुद्ध पारेपछि सभामुख सानुकुमार श्रेष्ठले आइतबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।