हेटौंडा, १८ असार । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रूपान्तरण भएपछिको पहिलो बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन २३ सदस्यलाई निर्देशन दिएको छ । तर बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने उपस्थित भएको छैन । वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा हुनुहुन्छ ।

उपाध्यक्ष वामदेव गौतम भने बैठकमा उपस्थित हुनुभएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकताअघिको अवस्थामा पुगेपछि एमालेको फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेकामा नेता नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको थियो । खनाल–नेपाल समूहको हिजो बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।