हेटौंडा, १८ असार ।
नेकपा एमालेको नेपाल पक्षबाहेकका केन्द्रीय कमिटी सदस्यहरूको बैठक आज बस्दै छ । आजविहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आजको बैठकमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहले भने सहभागी नहुने जनाएको छ । हिजो बसेको सो समूहको बैठकले आज बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको हो ।
पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताउनुभयो ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बस्दै छ ।
वरिष्ठ नेता माधव नेपाल पक्षको अनुपस्थितिमा बसेको पहिलो बैठकले नवौं महाधिवेशनबाट निर्वाचित पार्टी कमिटीलाई १० औं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास थालेको छ ।
आयोजक कमिटीद्वारा नेपाल पक्षमाथि गरिएको कारबाहीलाई सर्वोच्चले अवैध भनेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी ब्युत्याउनुभएको थियो ।
१६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय कमिटीमाथि माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।
नेपाल पक्षले उक्त निर्णय सहमतिको आधारमा नगरेसम्म अध्यक्ष ओलीले बोलाएको बैठकमा नजाने अड्डी कसेको छ ।