हेटौंडा, १७ असार ।
बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट माथि छलफल शुरु भएको छ । आज बसेको बैठकमा प्रदेशसभाका ११ जना सदस्यहरूले भाग लिएका छन् ।
बैठकको सुरुमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले सिन्धुपाल्चोकमा गएको असार १ गते आएको बाढी तथा पहिरोले २ सय ९३ घर परिवार विस्थापित र ४ सय ९४ घर परिवार जोखिममा परेको जानकारी दिनुभयो ।
मन्त्री पाण्डेले असार १ गते सिन्धुपाल्चोकमा वर्षाको कारण आएको बाढी तथा पहिरोले पाँचपोखरी थाङपालका ६५ परिवार,हेलम्बुमा २ सय ४ परिवार र मेलम्चीमा २४ घरपरिवार गरेर २ सय ९३ घरपरिवार विस्थापित भएको बताउनुभयो ।
यसैगरी मन्त्री पाण्डेले पाँचपोखरीमा अहिले पनि ४ घर जोखिमा,हेलम्बुमा १ सय २० घर,मेलम्चीमा २० घर र भोटेकोशीमा ३ सय ५० घर गरी ४ सय ९४ घर परिवार जोखिममा रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले असार १ गतेको बाढी तथा पहिरोमा परि ५ जनाले ज्यान गुमाएको बताउनुभयो । मन्त्री पाण्डले ज्यान जानेमा चिनियाँ नागरिक र भारतीय नागरिक २÷२ जना तथा एक जना नेपाली नागरिक रहेको बताउनुभयो ।
त्यसैगरी मन्त्री पाण्डले बैठकमा प्रदेशस्तरीय तत्काल विपत्त व्यवस्थापनको लागि प्रदेश सरकारले ५ करोड रुपँया दिने निर्णय गरेको जानकारी गराउनुभयो ।
बैठकमा सत्तापक्ष दल नेकपा एमालेका ६ जना, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका १ जना, नेपाली काँग्रेसका २ जना, नेमकिपाका १ र विवेकशील साझा पार्टीका १ जना सांसदले बजेट माथिको छलफलमा आफ्नो धारणा राखेका छन् ।
बागमती प्रदेशसभा सदस्य लेखनाथ दाहालले आफ्नो धारणा राख्दै तीनै तहका सरकारसँगको सहकार्यमा कोरोना विरुद्धको खोप खरिदका लागि केन्द्रित हुनुपर्ने र आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाले बागमती प्रदेश सरकारको बजेट खुद्रा भएको भन्दै प्रदेश सरकारले बजेट ल्याउँदा थोक र परिणाममुखी बजेट ल्याउनुपर्ने बताउनुभयो ।
बागमतीका प्रदेशसभा सदस्य निमा लामाले बागमती प्रदेश सरकारको प्रत्येक बर्षको प्राथमिकता फेरिएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले यसले विकासको गतिमा नकारात्मक असर पर्ने बताउनुभयो ।
उहाले अहिलेसम्म आएका ४ वटा बजेटमा प्रत्येक आर्थिक बर्षमा प्राथमिकता र सिद्धान्तसँग नीति तथा कार्यक्रम मेल नखाने र नीति तथा कार्यक्रमसंग बजेट मेल नखाएको बताउनुभयो ।
बागमती प्रदेशसभाको बैठक भोलि शुक्रबार मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ ।