हेटौंडा, १७ असार । बागमती प्रदेश सरकार आफैँले सञ्चारगृह स्थापना तथा सञ्चालन गर्ने निर्णयप्रति चर्काे अलोचना भइरहेको छ । आज नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ सांसदलाई ज्ञापनपत्र बुझाएको छ ।
बागमती प्रदेश सरकारले आफै आम संचारगृह संचालन गर्न आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेपछि १०९ सांसदलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको जनाइएको छ । पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले केही सांसदलाई भेटेर र अन्य सांसदलाई संसदीय दलमार्फत ज्ञापनपत्र बुझाएको हो ।
महासंघले सभामुख, उपसभामुख, संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेमकिपा, राप्रपा र स्वतन्त्र सांसदलाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्रमा महासंघले प्रदेश सरकारले आम संचारगृह संचालन गर्ने निर्णय फिर्ता गराउन भूमिका खेलिदिन आग्रह गरिएको छ ।