हेटौंडा, १६ असार ।
नेकपा (एमाले)को १० औं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवासमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीभित्र देखिएका विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।
हिजोको स्थायी कमिटीको बैठकले गरेको निर्णयलाई आजको महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने र त्यसपछि साबिककै केन्द्रीय कमिटीको संरचना लागू हुने कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
बैठकमा नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको छ । नेपाल पक्षका केन्द्रीय सदस्यहरूलाई पनि बैठकमा बोलाइएको हो ।
तर वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गर्नुभएको थियो ।
तर नेपाल पक्षका नेता युवराज ज्ञवालीले वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष केपी ओलीबिच वार्ता भएर सहमति भएपछि मात्र बैठकमा सहभागी हुने अन्यथा बैठकमा नजाने बताउनुभएको छ ।
हिजो बसेको स्थायी कमिटी बैठकले पुरानै संरचनाअनुसार पार्टी सञ्चालनको निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले २०७७ फागुन २३ मा सुनाएको फैसलापछि अध्यक्ष केपी शर्मा ओलीले २०७७ फागुन २८ मा केन्द्रीय कमिटी भंग गरी दशौं महाधिवेशन आयोजक कमिटी गठन गर्नुभएको थियो ।
ओलीको उक्त निर्णयप्रति वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले विरोध जनाउँदै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइनुपर्ने विषयलाई उठाउँदै आएको थियो ।
अध्यक्ष ओलीले एकलौटी रूपमा गठन गरेको १९ सदस्यीय स्थायी कमिटी बैठकले नै पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयलाई नेपाल पक्षका नेता युवराज ज्ञवालीले छलफलविनै आएको निर्णय भन्ने प्रतिक्रिया दिनुभएको छ ।
यता नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच हिजो पार्टीलाई एकताबद्ध गर्ने विषयमा छलफल भएको छ ।
हिजो अपराह्न बालुवाटारमा ओली पक्षीय नेताहरू सम्मिलित स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेर झण्डै चार घण्टा कुराकानी गर्नु भएको थियो ।