हेटौंडा,१५ असार । आज असार १५, दहि चिउरा खाने दिन । साथै आजै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पनि परेको छ ।

आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ ।

नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ ।

दही चिउरा खाने बेला तथा आवजतजावत गर्दा मापदण्ड अनुसारको दूरी कायम गर्ने तथा सम्भव भएसम्म प्रविधि र मेसिनको प्रयोग गरेर दिवस मनाउन सरकारले आग्रह गरेको छ ।

यसैबीच असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही चिउरा खाएर असार १५ मनाउँछन् ।

दही चिउराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।