हेटौंडा, १३ असार । अबैध काठसहित मकवानपुरमा ३ जना पक्राउ परेका छन् । हेटौंडा–१९ नेवारपानीस्थित पूर्व-पश्चिम राजमार्गमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ट्रिपरसहित अबैध काठ र ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा गाडी चालक मनहरी गाउँपालिका वडा नं. ७ का २५ वर्षीय बाबुलाल मोक्तान, ट्रिपरमा सवार सोही ठाउँका २६ वर्षीय राजु प्रजा र २६ वर्षकै निशान प्रजा रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले शनिबार ना ४ ख ५५०१ नं. को ट्रिपरलाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको अबैध सालको काठ ५१.६० क्युफिट फेला परेको बताइएको छ ।

पक्राउ परेका ३ जनालाई उक्त काठ, ट्रिपरसहित आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको प्रहरीले जनाएको छ ।