हेटौंडा १३ असार । कोरोना संक्रमणको कारण जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानीकान्छी स्याङ्तानको मृत्यु भएको छ ।

राक्सिराङ गाउँपालिका वडा नंबर– ३ की वडा सदस्य समेत रहनुभएकी स्याङ्तानको आज बिहान आफ्नै घरमा मृत्यु भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वताउनुभयो ।

कोरोना संक्रमण र निमोनियाका कारण स्याङतानको मृत्यु भएको राक्सिराङ गाउँपालिकाका प्रवक्ता रामकृष्ण प्रजाले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा उपचार गराउनुभएका उहाँलाई निको नभएपछि भरतपुर रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि हिजो घरमा ल्याईएको थियो । एक महिना अघि उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।