हेटौँडा, १२ असार । सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोनाको दोस्रो चरणमा धेरै युवायुवती प्रभावित भएको बताउनु भएको छ ।
मकवानपुर कोभिड हेल्प डेस्कले सञ्चालन गरेको पल्पसा आइसोलेसन अनुगमनपछि मन्त्री बस्नेतले दोस्रो चरणमा कोभिड अत्यन्त फैलिएर समस्या भएको बताउनु भयो । अभावैअभावमा दोस्रो चरण पार गर्ने क्रममा अहिले बागमती प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट, अन्य सेवाको पहल भएको बताउनु भयो ।
मन्त्री बस्नेतले स्थानीय तह र नागरिक समाजसँग समन्वय गरेर कोरोना परास्त गर्ने अभियान सफल हुँदै गइरहेको बताउनु भयो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईंले मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा सञ्चालनमा रहेको पल्पसा आइसोलेसन पवित्र कार्य भएको बताउनु भयो । तीनै तहको समन्वयमा स्वास्थ्य सेवा दिनसके कोरोना सहजै परास्त हुने डाक्टर सेढाईंको बनाइ थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नारायणी यातायात व्यवसायी संघका सरोजकुमार खनालले पल्पसा आइसोलेसनबारे मन्त्री र प्रवक्तालाई ब्रिफिङ गर्नु भएको थियो । पल्सपसा आइसोलेसनमा २२ जना कोभिड संक्रमित उपचाररत छन् ।