हेटौंडा, १० असार । मकवानपुरका दश वटै स्थानिय तहहरुले आज आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास क्षेत्रभित्रका समग्र योजनाका लागि १२ करोड ९८ लाख रुपैयाँ, सामाजिक विकास अन्तर्गत स्वास्थ्य तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ८ करोड ७६ लाख १० हजार रुपैयाँ, खेलकूद तथा मनोरञ्जन तर्फ ३ करोड ७२ लाख ८० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम संचालनका लागि ३ करोड ७ लाख रुपैयाँ, विपद् व्यवस्थापन र वाताबरण संरक्षण कार्यक्रमका ५ करोड ४४ लाख २२ हजार रुपैयाँ, शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ६३ करोड ९२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ९५ करोड ६४ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ । थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासतर्फ साइकल मार्ग निर्माणको पहल गरिने, ‘शुद्ध पिउने पानी, हाम्रो जिन्दगानी’ भन्ने नाराको साथ नगरका सबै घरमा ‘एक घर, एक धारा’ कार्यक्रम संचालन गरिने नीति लिएको छ ।
जिल्लाकै बकैया गाउँपालिकाले आगामी आथिक वर्षको लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसाको बजेट ल्याएको छ । गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष सरला बोलखेले बकैया २ कालापानी धियालमा रहेको युरेनियमलाई केन्द्र र प्रदेश सरकारसंगको समन्वयमा परीक्षणको कार्यलाई अगाडि बढाइने बताउनुभयो ।
यस्तै मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेट ल्याएको छ । पालिकाको सातौँ गाँउसभामा आर्थिक वर्ष २०७८÷७९ को लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो । गाउँपालिकाले विनियोजन गरेको बजेटको पुँजिगत खर्च ३२ करोड ६९ लाख ४७ हजार र चालू खर्च २७ करोड ५ लाख ६० हजार रुपैयाँ रहेको छ । पालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि जम्मा आयतर्फ ६२ करोड ९२ लाख १७ हजार ५ सय हुने अनुमानित आय पेश गरेको छ ।
यसैगरि कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४५ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट अनुसार, पालिकाले २० करोड पुँजिगततर्फ (४५ प्रतिशत) र २५ करोड रुपैयाँ चालु तर्फ (५५ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
उता राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले गाउँपालिकाको १० औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाले आगामी आर्थिक र्वाको लागि चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ अर्थात ५२.७० प्रतिशत र पूँजीगत २५ करोड ८८ लाख रुपैयाँ अर्थात ४७.३० प्रतिशत विनियोजन गरेको छ ।
यस्तै बागमती गाउँपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट अनुसार, गाउँपालिकाले ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ ।
जिल्लाको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको बिहिबार बसेको ९ औं गाउँसभामा उपाध्यक्ष मनिला विष्टले आगामी आवको लागि ८३ करोड ६७ लाख ८६ हजार बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी वर्षको लागि ६५ करोड ४१ लख ९९ हजारको बजेट ल्याएको गाउँपालिकाका सुचना अधिकारी बद्रि सापकोटाले बताउनुभयो ।
यस्तै इन्द्रसरोबर गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेको छ । इन्द्रसरोबर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३८ करोड ४१ लख बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख जीवन लामाले जानकारी दिनुभयो ।
जिल्लाका सबै स्थानिय तहले आगामी वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिएको जनाएका छन् ।