हेटौंडा, १० जेठ ।
आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि आज मकवानपुरका स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै छन् । आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि असार १० गते स्थानीय तहहरुले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मकवानपुरका १० ओटै स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।


मकवानपुरका १० स्थानीय तहलाई प्रदेश तथा संघीय सरकारले ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । आज हेटौंडा उपमहानगरपालिकाले बिहान ११ बजेपछि रोयल पार्टी प्यालेसमा नीति तथा कायृक्रम र बजेट सार्वजनिक गर्दे छ । हेटौंडा उपमहानगरले अगामी वर्षको लाग २ अर्बको हाराहारीमा बजेट प्रस्तुत गर्ने जनाएको छ ।


यस्तै मकवानपुरको पूर्वी बागमती र बकैया गाउँपालिकाले ३० करोडदेखि ४० करोड रुपैयाँको बीचमा बजेट प्रस्तुत गर्दैछन् । राक्सिराङ र मनहरीले ५० करोडभन्दा माथि बजेट ल्याउने तयारी गरेको बताइएको छ । कैलाश र ईन्द्रसरोबरले पनि ३० करोडमाथि बजेट प्रस्तुत गर्ने बताइएको छ ।

भीमफेदी गाउँपालिकाले पनि ४० करोडको हाराहारीमा बजेट ल्याउँदै छ भने थाहा नगरपालिकाले ७० करोड हाराहारीमा बजेट ल्याउने जनाएको छ ।