हेटौंडा, ८ असार । विश्वभरका मानिसलाई आतंकित बनाएको कोरोनाको त्रासका कारण सरकारले लगाएको निषेधाज्ञा दुई महिना पुग्न लाग्यो । निषेधाज्ञामा घरैमा बस्नुपर्दा मानिसमा अनेकौँ समस्या पनि देखा परेका छन् ।

कति त निषेधाज्ञाले घर बाहिर डुल्न घुम्न नपाएर वाक्क दिक्क भए । के गरौँ र कसो गरौँको अवस्थामा निस्सासिएर बस्नुपरेको अनुभव धेरैले गर्न पाए । तर, हेटौंडा उपमहानगरपाकिा वडा नम्बर ८ का नवराज पौडेलको दैनिक मन्दिर–मन्दिरमा फूलको बिरुवा रोपेर बितेको छ ।

उहाँले आफ्नै खर्चमा नर्सरी बाट खरिद गरेर र गाउँ घरबाट सङ्कलन गरेर हेटौंडाको चुरेमाइ, पाथीभरा, चिन्ड्रेन पार्क गणेश मन्दिर, हेटौंडा ८ को कालिका मन्दिर, मनकामना क्षेत्र विकास, लगायत विभिन्न मन्दिरहरुमा गमलामा फूलका बिरुवा रोप्नुका साथै मन्दिर छेउछाउको खाली जमिन, डाँडापाखामा बोट बिरुवाहरु रोप्दै आउनु भएको छ । उहाँले मन्दिर सरसफाई गर्नका लागि कुचो पनि बितरण गर्नुहुन्छ । उहाँले हेटौंडाको चुरेमाई मन्दिरमा मात्र १ सय रोपेको बताउनुभयो ।

पौडेल बताउनुहुन्छ, मन्दिर धार्मिक पर्यटकिय क्षेत्र भएकाले सबैको नजर त्यही पर्छ, त्यसलाई सफा राख्नु हाम्रो कर्तव्य पनि हो । हाल मन्दिरहरु आकर्षक देखिनुमा पौडेलको निकै योगदान छ । मन्दिर भनेको देवि–देवता को बासस्थान भएकाले पनि सरसफाई, संरक्षणमा लाग्न पाउँदा आफूलाई अत्यन्तै खुशी लाग्ने उहाँ बताउनुहुन्छ । मन्दिरको सरसफाई र संरक्षणमा लाग्न पौडेलले आग्रह गर्नुभयो ।
मन्दिर वरपर फूलको विरुवा रोप्न तथा सरसफाइमा सहभागि हुन चाहनेका लागि ९८४५२७००३४ मा फोन गर्न समेत उहाँको आग्रह छ ।