हेटौंडा, ७ असार । कोरोना संक्रमण जोखिम न्युनिकरण गर्नका लागि सरकारले जारी गरेको निषेधाज्ञा अझै जारी छ । साथै कोरोनाको त्रास पनि घट्न सकेको छैन । केहि जिल्लाहरुमा निषेधाज्ञा हटाइएको छ भने धेरै जसो जिल्लामा निषेधाज्ञा जारी छ । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा पनि पछिल्लो पटक असार १४ गते सम्म निषेधाज्ञा थप गरिएको छ । यस समयमा बालबालिकाहरु घरभित्रै बस्न वाध्य छन् ।

उनीहरुको स्वतन्त्र रुपमा खेल्न पाउने, विद्यालय गएर अध्ययन गर्न पाउने अधिकार कटौती भएको छ । पहुँच हुने अभिभावकका बालबालिकाहरु अनलाइन मार्फत् अध्ययन गरिरहेका छन् । तर, जहाँ इनटरनेटको पहूँच पुगेको छैन, त्यहाँँका बालबालिकाहरु पढाईबाट वञ्चित भएका छन् । मकवानपुरमा बालबालिकाको अवस्था के छ ? उनीहरुमा के कस्ता समस्या तथा प्रभाव परेको छ भन्ने विषयमा जिल्ला बालकल्याण समिति मकवानपुरका अध्यक्ष प्रकाश खतिवडासँग सहकर्मी सम्झना श्रेष्ठले कुराकानी गर्नुभएको छ ।

निषेधाज्ञाको कारण मकवानपुरका बालबालिकामा कस्तो असर परेको छ ?
जिल्लामा हामीले अनुगमन गर्ने क्रममा विद्यालय बन्द भएसँगै बालबालिकाहरुको पढाई बिग्रिएको छ, उनीहरुले पढ्न पाएका छैनन् । साँच्चै भन्नुपर्दा घरपरिवारमा बालबालिका बोझ भएका छन् । कतिपय बालबालिका आफ्नै परिवारबाट हिंसामा परेका छन् । लामो समयसम्म घरैमा बसिरहनुपलर्दा बालबालिकाको स्वभावमा विभन्न खालका परिवर्तन आएको छ । उनीहरुको जिद्दीपन, अटेरीपनको कारण अभिभावकको गाली खाइरहनुपरेको छ । जिल्लामा कतिपय अवस्थामा बालबालिका यौन दुव्र्यवहारमा परेका छन् ।

निषेधाज्ञाको समयमा बालहिंसाका घटना भएको छ की छैन ? बालकल्याण समाजसम्म घटनाहरु कतिको आउने गरेको छ ?
जिल्लामा बालहिंसा प्रशस्त छन् । अहिले जिल्ला बाल कल्याण समाज मकवानपुर, बाल हेल्प लाइन १०९८, जिल्ला प्रहरी हामी सबै सहकार्य गरि काम गरिरहेका छौँ । कतिपय अवस्थामा बालबिबाह गुपचुप हुने, घरका अभिभावकले नै लुकाउने, बालबिबाह भए पनि भएको छैन भन्ने जस्ता झुट बोल्ने गरेको पाइएको छ ।
बालहिंसाको अवस्था विकराल छ गत वर्ष ३६ जनामा जवरजस्ती करणी भएको रिर्पोट छ भने अहिले ५३ जनामा जवरजस्ती करणी भएको भनि मुद्धा दर्ता भएको छ । अव यो तथ्यांक अझ बढ्न सक्ने देखिन्छ किनकी मानिसहरु निषेधाज्ञाको कारण पनि यस्तो घटना हुने गरेको पाइएको छ । कतिपय महिला तथा बालबालिकाको मानवअधिकार उलङ्घन भएको पाइन्छ । यस्तै बालबालिकाहरुमा मनोसामाजिक समस्याबाट ग्रसित छन् ।

जिल्ला बालकल्याण समाजले अहिले के- कस्ता कार्यक्रम गरिरहेको छ ?
अव, अहिले हामी परामर्शको कार्यक्रमहरु गरिरहेका छौँ । सामाजिक सञ्जाल मार्फत् जुम प्रविधिबाट हामी परामर्शको कार्यक्रमहरु गरिरहेका छौँ । अभिभावक र बालबालिका समेटेर कार्यक्रम गर्दा केहि प्रभावकारी भएको महसुस भएको छ । हामी अभिभावकहरुलाई आफ्ना बालबालिकाहरु पढीराछन् की सामाजिक सञ्जालको दुरुपयोग गर्दैछन् ? त्यसमा बालबालिकामाथि निगरानी बढाउन सचेत गराउँछौँ । यसैगरि बालबालिकाहरुलाई पनि सामाजिक सञ्जालमा राम्रा मात्र कुरा हुँदैनन् नराम्रा कुरा पनि हुन्छन् । जसले व्यत्तिलाई हानी गर्छ भनेर सम्झाउँछौँ । तर, कतिपय अवस्थामा सामाजिक सञ्जालकै कारण बालबालिकाहरु एकअर्कामा नजिकिने, चिनजान तथा घुलमिल बढाउने र चहाँदा नचाहँदै पनि भेटघाट हुने यौन दुव्र्यवहारमा पर्ने जस्ता घटनाहरु भएको छ । हामीले अनुगमनमा पाएका, गाउँगाउँमा भएका स्वयमसेवक साथीहरुको रिपोर्टिङको आधारमा ति बालबालिकालाई सहयोग तथा पुनः स्थापना गर्ने कार्य भैरहेका छ ।

परामर्शमा जोडिनुहुने अभिभावकहरुले आफ्ना बालबालिकामा के-कस्ता परिवर्तन आएको बताउँछन् ? अनि कस्तो सुझाव दिनुहुन्छ ?
अभिभावकहरुले बालबालिकाहरु अटेरी भएको, जिद्दी भएको, झगडा मात्र गर्ने, यो किनिदे त्यो किनिदे भनेर हैरान पार्ने गरेको सुनाउनुहुन्छ । बालबालिकाहरुले अनावश्यक मागहरु राख्ने गरेको पाइएको छ । हामी जुम प्रविधिमार्फत् उहाँहरुलाई आफ्ना बालबालिकालाई सम्झइबुझाइ गर्न सिकाउँछौ । उनीहरुको कुरा ध्यान दिएर सुन्न र त्यसलाई सम्बोधन गर्न समय लाग्ने बारे पनि सहज तरिकाले सम्झाउन आग्रह गर्छाैँ ।
यसरी हामीले गरेका कार्यक्रमले निक्कै फाइदा पुगेको अभिभावकहरुले पनि बताउने गर्नुभएको छ । जिल्ला बालकल्याण समिति निषेधाज्ञा कै बिच पनि बालबालिकाकै क्षेत्रमा सक्रिय छ । हामी सँधै बाल अधिकारको क्षेत्रमा निरन्तर लागिरहन्छौ । सबैभन्दा ठुलो कुरा बालबालिकालाई नम्र भएर सम्झाई बुझाई गर्नु नै महत्वपुर्ण हुन्छ ।