हेटौंडा, ७ असार । मकवानपुरमा आगामी असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राती १२ बजेबाट लागु हुने गरि एकसाताका लागी थप गर्ने निर्णय गरेको हो ।

गत बैशाख १९ गतेबाट जारी निषेधाज्ञा पटकपटक थप गर्दै यसपटकको निषेधाज्ञा भने केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा कोरोना संक्रमणदर न्युन हुँदै गएकाले निषेधाज्ञाको स्वरुप परिवर्तन गरिएको मकवानपुर प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सूचनामा निषेधाज्ञाको समया अनुमति प्राप्त व्यापार व्यवयसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डका नियमहरुलाई अनिवार्य कडाईका साथ पालना गर्न निर्देशन दिइएको छ । कुनैपनि स्थानमा भिडभाड गर्न गराउन नपाईने, अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने र भौतिक दुरी कायम गर्ने जनाइएको छ ।

निषेधाज्ञामा के खुल्छ ? के खुल्दैन ?
१ः खाध्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफुल तथा तरकारीका पसलहरु विहान ४ः०० बजेदेखि विहान १०ः०० बजेसम्म खोल्न पाइने छ । तर, हेटौंडा उपमहानगरपालिकाको खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार बन्द रहने छन् ।
२ः औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटेनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन हुनेछन् ।
३ः पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, हार्डवेयर, भाँडा, कपडा, टेलर, जुत्ताचप्पल पसल सञ्चालन गर्न पाइनेछ ।
४ः सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल खुल्नेछन् । यि पसलहरु मध्याह्न १२ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म मात्र सञ्चालन हुने गरी खोल्न पाइने भएको छ ।
५ः रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म खोल्न पाइने उल्लख गरिएको छ ।
६ः निजी सवारी साधनका तथा अटो, मयुरी जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न पाइनेछ । तर, दुई जना भन्दा बढि यात्रु बोक्न पाइने छैैन । साथै कुनैपनि सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न पाइनेछैन ।
७ः सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा बित्तिय संस्था एवम् अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई सम्बन्धित कार्यलयले जारी गरेको परिचयपत्रको आधारमा कार्यालय समय मात्र आवात जावत गर्न दिइने छ ।
८ः समाचार संकलन संप्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरुले पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन तथा आवातजावत गर्न पाइनेछ ।
९ः अन्य जिल्लबाट आएका पुर्व–पश्चिम राजमार्ग भई जाने लामो दुरीका सवारीसाधन, मालवाहक सवारी साधन तथा निर्माण सामग्री ढुवानीका साधनहरु यस जिल्लामा नरोकी आवातजावत गर्न पाइने छ ।
१०ः होटल/ लज, शैक्षिक संस्थाहरु, सबै प्रकारका सभा, गोष्ठि, तालिम, सेमिनार, भेला, प्रदर्शन, सिनेमा हल, पार्टि प्यालेस, डान्सबार, सपिङमल, ब्युटिपार्लर तथा सैलुन,स्विमिङ पुल, जिमखाना, समुहमा खेलिने खेलहरु पुर्ण रुपमा बन्द रहनेछ ।
११ः मठ–मन्दिर, मस्जित, गुम्वा, चर्च लगाएत धार्मिक स्थलहरुमा नित्य पूजा मात्र सञ्चालन गरि अन्य समयमा अनिवार्य बन्द रहनेछ ।