हेटौंडा, ६ असार । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दललाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले आफैले आम संचारगृह स्थापना तथा संचालन गर्न बजेट विनियोजन गरेकोप्रति कांग्रेस संसदीय दललाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रूपेश दुलालसहितको टोलीले संसदीय दलका प्रमुख सचेतक बुद्धिमान माझीलाई ज्ञापनपत्र बुझाएको हो ।

यसैगरि नेपाल पत्रकार महासंघ मकवानपुरले प्रमुख जिल्ला अधिकारी मार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमको घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाएको छ ।

अन्य प्रदेश सरकारले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि समेत बजेट विनियोजन गरेकोमा बागमती प्रदेश त्यस बिपरित सरकारको नियन्त्रणमा रहने गरी आम सञ्चारमाध्यम स्थापना र सञ्चालन गर्न दश करोड विनियोजन गरेको छ । प्रदेश सरकारको यस निर्णयको सर्वत्र आलोचना भैरहेको छ ।