हेटौंडा, ६ असार । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेशको आव ०७८÷०७९ को बजेटबारे समीक्षा गरेको छ ।
आज भएको समिक्षा कार्यक्रममा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेटले जनताको अपेक्षा पूरा नगरेको बताउनुभयो ।

उहाँले मन्त्री र सत्तापक्षका केही नेताको मनको मात्रै चाहना पूरा गर्ने जिकिर गर्नुभयो । नेता बानियाँले कोरोना संक्रमणको जोखिम न्यूनीकरण, उपचार, पूर्वाधार विकास र राहतमा स्पष्ट कार्यक्रम दिन नसकेको बताउनुभयो ।

कार्यक्रममा सांसदहरूले समानुपातिक र न्यायोचित ढंगले बजेट नआएको बताउँदै सत्तापक्षीय केही नेता र आसेपासे कार्यकर्ता पोस्ने खालको बजेट रहेकोमा आपत्ति जनाएका छन् ।
प्रदेश सरकार आफैंले संचारगृह चलाउने जस्तो अलोकतान्त्रिक कार्यक्रम ल्याउनुले स्वतन्त्र संचार क्षेत्रलाई धरासायी बनाउने भन्दै सरकारले आफ्नो गुनगान गाउने सरकार नियन्त्रित संचारगृह स्थापनाको अभिष्ट प्रष्ट भएको छलफल भएको थियो ।