हेटौंडा, ५ असार । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रदेश सरकारको बजेट र त्यसमा समेटिएका संचार क्षेत्र संबन्धि बिषयहरु संबन्धि भर्चुअल अन्तरकृया गरेको छ ।

शनिबार भएको कार्यक्रममा प्रदेश सरकार संचारमैत्री हुन नसकेकोमा सहभागिहरुले चिन्ता ब्यक्त गरेका छन् । स्वतन्त्र प्रेस बिरोधी नीतिहरु कार्यान्वयन हुन नदिन दवावमुलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा सबैले जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले लोकतान्त्रिक राज्य ब्यवस्थामा सरकार आफैंले संचारमाध्यम संचालन गर्ने बिषय स्वीकार्य नहुने बताउनुभयो । लोकतन्त्रको मर्ममा प्रहार गर्ने गरी आएका नीति र कार्यक्रमहरु फिर्ता नभए महासंघ कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा प्रदेश सरकार आफैँले आम संचारगृह स्थापना गर्नेगरी बजेट बिनियोजन गरेपछि सर्बत्र आलोचना भैरहेको छ । प्रदेश सरकारको यस निर्णय स्वतन्त्र प्रेसको बिश्वब्यापी मान्यता बिपरित रहेको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् ।