भीमसेन पौडेल
हेटौँडा, ५ असार । विश्वमै लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण एवम् व्यवस्थापन गर्न हेटौँडा–६, चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले सालक केजको बनाउने गर्ने कार्य शुरु गरेको छ । समूहको चालु आव २०७७–७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सालक केज बनाउन शुरु गरिएको समूहले जनाएको छ ।
समूहको ब्लक नम्बर ५ स्थित बिपी गणेशमान स्मृति पार्क नजिकै सालक केज बनाउन शुरु गरिएको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताउनु भयो । डिभिजन वन कार्यालय मकवानपुरको ९ लाख ६० हजार रुपैयाँ र वन समूहको १ लाख ७२ हजार रुपैयाँसहित ११ लाख ३२ हजार रुपैयाँको लागतमा सालक केज बनाउन लागिएको समूहका उपाध्यक्ष एवम् सालक केज निर्माण उपसमितिका संयोजक केशव धितालले बताउनु भयो ।
रानी सामुदायिक वनले सालक संरक्षण, व्यवस्थापन, खानेकुरा संरक्षण, जनचेतामूलक कार्यक्रम, कानूनी प्रावधानलगायतका कार्य गर्दै आएको छ । समूहले डिभिजन वन कार्यालय मकवानपुर, तराई भू–परिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष र दि रिफोर्ड फाउन्डेसनलगायतका संघसंस्थासँग मिलेर सालक संरक्षण गर्दै आएको छ । समूहको वनक्षेत्र भित्र करिब डेढ दर्जन सालक रहेको बताइएको छ ।