हेटौंडा, ३ असार । नेपालमा चट्याङबाट हरेक वर्ष एक सय भन्दा बढीको ज्यान जाने गरेको छ । मकवानपुर पनि चट्याङबाट प्रभावित जिल्ला हो । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार विगत १० वर्षयता करिब एक हजार मानिसको मृत्यु चट्याङबाटै भएको छ । त्यस्तै, चट्याङ लागेर हरेक वर्ष करिब ३ सय घाइते र कयौँ पशुचौपाया तथा भौतिक संरचनामा क्षति हुने गरेको तथ्याङ्क छ ।
आकाशमा बादलहरु एकअर्कामा ठोकिँदा वा घर्षण हुँदा निस्कने एक प्रकारको विद्युतीय करेन्ट नै चट्याङ हो । यसरी उत्पन्न भएको करेन्ट पृथ्वीतिर झर्ने गर्दछ । चट्याङ अचानक हुने विद्युतीय विस्फोटन पनि हो । चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादका रूपमा यो भन्दा बढी दूरीमा पनि सुनिएको तथ्यांक पनि छ । चट्याङले विद्युतको लहर उत्पन्न गराउँछन् ।
पृथ्वीमा रहेको पानी सूर्यको तापक्रमले गर्दा वाष्पीकरण भई आकाशतर्फ जाने गर्दछ । यो पानी जति उचाइमा पुग्छ, चिसिँदै जाने क्रम शुरु हुन्छ । र, यसले बादलको रुप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ । यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हुँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल भनिन्छ । यस्ता बादलले पानी पार्ने गरेको छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना पनि बढी हुन्छ । यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिनाका रुपमाम रहेका हुन्छन् ।
जब बादलभित्रै एक तह र अर्को तहको तापक्रममा फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो हिँड्छन् । त्यसपछि बादलभित्र हुरीबतास तलमाथि चल्न शुरु हुन्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्ज उत्पन्न गराउँछ। शुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किन्छ । यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको बस्तुमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानी–नोक्सानी हुँदैन । बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् । फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारण चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छ । यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जमा विभिन्न प्रतिक्रिया हुने गर्दछ ।

आकाशमा बिजुली चम्किने बेला पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ । यसले वायुमण्डललाई आकस्मिकरूपमा तातो पारेर तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने अनुसन्धानहरुले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, यसलाई मेघ गर्जन भनिन्छ । यसपछि चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ । जब आकाशमा छिटो बिजुली चम्कने र मेघ गर्जने हुन्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । यस्तै, विस्तारै पानी पनि पर्न थाले बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्ज पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ । यस्तो बेला पानीमा भिज्ने व्यक्ति वा अन्य कुनै वस्तुलाई विद्युतीय प्रवाह लाग्ने डर अत्यधिक मात्रामा हुन्छ ।
यो प्राकृतिक प्रकोप भए पनि विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्न सफल भएको उदाहरण पनि छन् । तर चट्याङको अवस्था अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा नेपाल जस्ता धेरै देशहरुले जोखिम खेपिरहेको पाइएको छ ।
विश्वकै शक्तिशाली मानिएको मुलुक अमेरिकामा समेत एक शतकअगाडि चट्याङले वार्षिक करिब ५ सय नागरिकको मृत्यु हुने गरेको भए पनि अहिले ३० भन्दा बढीको मृत्यु हुँदैन । यस्तो नजिरलाई हेर्ने हो भने क्षति कम गर्न सकिन्छ । पूर्वाधार सम्पन्न देशहरुले क्षेत्र तोकेर चट्याङको सम्भावना दर्शाउदै सजगता अपनाइरहेका छन् । र उनीहरुको अनुमान ८० प्रतिशत भन्दा बढी मिलिरहेको पनि छ । नेपालमा पनि यो प्रविधि प्रयोगमा ल्याउन जरुरी देखिएको छ ।
हुन त केही प्रयास पनि भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले छुट्टै विपद् व्यवस्थापनको काम सम्हालेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सबैभन्दा ठूलो पाटो चेतनामूलक कार्यक्रम भएकाले चट्याङ्बाट सावधानी अपनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुहुन्छ ।
क्षतिका हिसाबले प्रकोपहरुमा चट्याङ पहिलो हो । यसको पूर्वानुमान गर्न नसकिने भएकाले यसलाई पहिलो नम्बरमा राखिएको हो । यसबाट हुने क्षति कम गर्न भवन संहितामा पनि भूकम्प प्रतिरोधात्मक जस्तै चट्याङ् प्रतिरोधात्मक विधि लागु गर्नु जरुरी छ ।
जल तथा मौसम विज्ञान विभागले नेपालका विभिन्न नौ स्थानमा चट्याङ मापन केन्द्र स्थापना गरेको छ । विभागले जल तथा बाढीको तीन दिनसम्मको मापन गरेर विवरण दैनिक सार्वजनिक गर्दै आएको छ तर चट्याङलाई प्राथमिकता दिएको पाइँदैन । बरु चट्याङ परेपछि चैँ कहाँ कहाँ पर्यो भनेर विवरण राख्ने काममा सीमित भइएको छ । नेपालमा प्रदेश नम्बर १, २ र ५ को तराई क्षेत्रमा बढी चट्याङ परेको छ । बागमती प्रदेशका मकवानपुर, चितवन पनि चट्याङ प्रभावित जिल्ला हुन् ।
नेपालमा करिब ५ सय ४० वटा जति प्राकृतिक प्रकोप आउने गरेको छ । त्यसमा करिब १५ देखि २० प्रतिशत चटयाङ रहेको छ । वर्षाको समयमा बढी चटयाङ परे पनि यो बाह्रै मास पर्ने गर्दछ । विषेततः पानी पर्ने बेला चट्याङ पनि बढी पर्ने सम्भावना रहन्छ ।
चट्याङ केलाई भनिन्छ ?
चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । बादलका विपरीत दिशा आपसमा जुधेपछि उत्पन्न हुने करेन्ट र त्यसबाट उत्पादन हुने ठूलो आगोको मुस्लोलाई ‘बिजुली चम्केको’ वा सामान्य बोलिचालीको भाषामा चट्याङ परेको भनिन्छ । एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ । चट्याङले ३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो ।
चट्याङसँग जमीनमा झर्ने बस्तुहरूः
चट्याङ् एक विद्युतीय करेण्ट हो तर पनि चट्याङसँग ढुङ्गा जस्तै कडा धातुहरूको आगमनको अनुमान गरिन्छ । जसले गर्दा चट्याङ् परेको स्थानमा खाल्डाखुल्डी र चिराहरु परेको देखिन्छ । पश्चिम नेपालमा चट्याङ पर्दा बन्चरो, ओदान, निकान, पेठो आदी बस्तु खस्छ भन्ने विश्वाश छ ।
चट्याङका असरहरूः
चट्याङसँगै पृथ्वीको सतहमा रहेका भौतिक तथा जैविक बस्तुमा क्षति पुग्ने त छँदैछ । थन्डर स्ट्रोम प्रक्रियाका अरु धेरै असर पनि छन् । ठूलो आवाजको गड्याङगुडुङ मानिसलाई सुन्नका लागि पनि निकै डरलाग्दो हुन्छ भने जति धेरै आकाश गज्र्यो उति धेरै वर्षा सम्भावना रहन्छ । क्युमुलोनिम्बस बादलमा हुने थन्डर स्ट्रोम प्रकृयाले ठूलो हावाहुरी, आँधीबेहरी, असिनापात तथा टोर्नाडो, साइक्लोन जस्ता विनाशकारी आँधीसमेत ल्याउने गर्छ । भूमध्यरेखीय क्षेत्र तथा समुद्रको नजिक पर्ने क्षेत्रमा चट्याङसँगै यस्ता प्राकृतिक विपत्ति आउने गर्छन् । त्यस्तै निकै ठूलो वर्षाका कारण बाढीपहिरो जस्ता विपद् पनि यही वायुमण्डलीय ऊर्जाका परिणति हुन् ।
चट्याङका फाइदाः
आकाश गर्जने, बिजुली चम्किने वा चट्याङ पर्ने प्रक्रिया हानिकारक मात्र होइन, फाइदाजनक पनि हुन्छ । पर्यावरणीय सन्तुलनका लागि चट्याङ पर्ने बेला उत्पन्न हुने तापीय ऊर्जा निकै महत्वपूर्ण हुन्छ । आकाशमा विपरित चार्ज भएका बादलबीचको घर्षणले जुन ठूलो मात्राको तापीय ऊर्जा उत्पन्न गर्छ, त्यसले गराउने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने पदार्थ वनस्पतिका लागि फाइदाजनक हुन्छ । वायुमण्डमा ग्यासका रुपमा रहेको ठूलो परिमाणको नाइट्रोजनलाई वनस्पतिले ग्रहण गर्नसक्ने खालको नाइट्रेटको रुपमा बदल्ने काम त्यही तापीय ऊर्जाले गर्छ । बिजुली चम्किँदा उत्पन्न भएको अत्यधिक तापक्रममा नाइट्रोजन ग्यास अक्सिजन ग्याससँग मिलेर नाइट्रेट बन्दछ । यो पदार्थ वर्षासँगै पृथ्वीमा आउँछ र माटोमा मिल्दछ अनि विरुवाले मलको रुपमा लिन्छ । गड्याङगुडुङसहित परेको पानीले युरिया मलमा भएको जस्तै पोषण तत्व बोकेको हुन्छ ।
चट्याङबाट कसरी बच्ने ?
प्रकोपमा चट्याङ सबैभन्दा भयानक मानिन्छ । हुन त चट्याङ पर्दा पृथ्वीमा आउने ताप र विद्युतीय ऊर्जा निकै छोटो समयसम्म मात्र रहन्छ । तर पनि ठूलो परिमाणको ऊर्जा हुने भएकाले यो प्रलयकारी हुन्छ । आकाशमा कालो बादल तथा हावाहुरी चलेको बेला फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो बस्तु नछुने गरेर चट्याङबाट बच्न सकिन्छ । सकेसम्म घरभित्रै बस्ने झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ । खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने । बिजुलीको व्यवस्था भएको ठाउँमा अग्ला घरहरू निर्माण गरेमा लाइटनिङ रडको प्रयोग गर्नु पर्छ । यस्तै, पानी परेको वा गर्जिएको बेला घर बाहिर निस्कनु हुन्न । ठूला रुख, बिजुलीका तार, पोल तथा ट्रान्समिटरको तल पनि बस्नु हुन्न । विद्युतीय उपकरण जोडिएको ठाउँमा अर्थिङ गर्नु पर्दछ ।
अग्ला टावरहरू पनि चट्याङका सिकार हुन् । चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ । तैपनि चट्याङले बेलाबेला टावरमा क्षति गरिरहेकै हुन्छ । यस्तै, टावर, बिजुलीको हाइटेन्सन वरपर पनि चट्याङको जोखिम हुन्छ । यसको वरपर रहने घर तथा बस्ती बढी जोखिमपूर्ण हुन्छन् ।