हेटौँडा, ३ असार । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले मकवानपुरमा खोप लगाएका सबैलाई दोस्रो चरणको खोप अपुग भएकाले समस्या भएको बताउनु भएको छ । शक्तिखबर डटकमसँगको कुराकानीमा सिडिओ पाण्डेले पहिलोचरणको खोप लगाउने १५ हजार भन्दा बढी भएको र अहिले आएको दोस्रो चरणको खोप कम भएकाले सबैलाई लगाउन प्राविधिक समस्या भएको हो ।

हेटौँडामा उपलब्ध भएको कोभिसिल्ड दोस्रो खोप उमेर समूह र लक्ष्यित समूहलाई केन्द्रित गरिएको छ भने भेरोसेल पहिलो खोप उमेर समूहलाई केन्द्रित गरिएको छ । स्थानीयस्तरमा पालिकास्तरीय खोप समन्वय समिति र जिल्लामा जिल्ला खोप समन्वय समितिले खोप संयोजन गरिरहेको बताउँदै सिडिओ पाण्डेले भन्नुभयो, ‘खोप चाहनेको संख्या धेरै छ र उपलब्ध खोप कम छ, त्यसैले केही कठिनाइ परेको हो, बजारमा हल्ला भए झैँ खोप लगाउने टुंगो नहुँदा खेरै जाने अवस्था आउँदैन ।’

सिडिओ पाण्डेले भन्नुभयो, ‘पालिकास्तरमा खोप वितरण भइरहेको पालिकैकै जिम्मामा छ, कतै खोप दुरुपयोग भयो भन्दा पालिका नेतृत्व नै जिम्मेवार हुन्छ ।’

पछिल्लो समय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले खोप दुरुपयोग गरेको भन्दै स्वास्थ्य कार्यालयले मौज्दात रहेको खोप वितरणमा आनाकानी गरेको र मकवानपुरका सिडिओले पनि खोप लगाउने विषयमा चासो राखेसँगै भएको खोप खेर जाने अवस्थामा पुगेको चर्चा चलाइएको थियो । सिडिओ पाण्डेले भन्नु भयो, ‘उमेर समूहकालाई छुट्न दिन्नौँ, त्यसपछि लक्ष्यित समूहलाई खोप दिने व्यवहारिक पाटो मिलाउँदैछौँ, उपलब्ध खोप दिन्छौँ, खेर जाँदैन ।’