हेटौंडा, २ असार । जिल्ला प्रशासन कार्यलय मकवानपुरले प्राकृतिक जोखिमहरुबाट सुरक्षित रहन जिल्लावासीहरुमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेद्वारा हस्ताक्षरित सूचनामा यस बर्षको मनसुन सुरु भैसकेको तथा भारी बर्षाको सम्भावना रहेकोले खोला तथा नदी आसपासका बस्तीमा रहँदै आएकाहरुलाई सतर्क रहन भनेको हो ।

प्रशासनले जिल्लामा रहेका खोलाहरुमा पानीको सतह बढ्ने, बाढी, डुवान तथा नदी कटानको समस्या हुने भएकोले खोला तथा नदीको किनारका बस्तीमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेको हो ।
नदिहरुमा बाढी आएको बेला माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न भनिएको छ ।

यसैगरि जोखिमका समय आवस्यक पर्ने खानेकुरा, औषधि, पानी, लत्ताकपडा जस्ता कुराको व्यवस्था गर्न आग्रह गरिएको छ भने महिला, बालबालिका, जेष्ठ नागरिक र शारिरीक अपांगता भएकाहरुको सुरक्षामा विशेष ध्यान दिन पनि प्रशसनले सुचना मार्फत आग्रह गरेको छ ।

यसका साथै जिल्ला प्रशासन कार्यालयले आफ्नो आसपासको क्षेत्रमा कुनैपनि प्राकृतिक जोखिम देखिए तत्काल स्थानिय पालिका, सुरक्षा निकाय एवं जिल्ला विपद व्यवस्थापन समितिलाई खबर गर्न अनुरोध गरेको छ ।

विपत् को समय घरवरपरको भौगोलिक अवस्था अध्ययन गर्ने गर्नुपर्छ । साथै राती सुत्दा चनाखो हुन आवश्यक हुन्छ ।