हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित परिवर्तन सामुदायिक वन क्षेत्रमा अहिले पार्क निर्माणको काम भइरहेको छ । नेपालका पहिलो सहिद लखन थापाको स्मृतिमा पार्क तथा सङ्ग्रहालय निर्माण सुरु गरिएको हो ।

लखन वाटिका नामक सो पार्क तथा सङ्ग्रहालय निमाणको काम अहिले तीव्र रूपमा भइरहेको छ । परिवर्तन सामुदायिक वन उपभोक्ता समूहको ३३ कठ्ठा जग्गामा निर्माण सुरु गरिएको पार्कको योजनाकार विश्व आले मगर हुन् । उनकै नेतृत्वमा अहिले काम भइरहेको छ । अहिले पार्कमा सभा हल, शौचालय, विश्रामगृहहरू निर्माण भइसकेका छन् ।

यसलाई आकर्षक बनाउनका लागि अझै धेरै बजेटको आवश्यकता पर्ने हुनाले दाता तथा सहयोगीको खोजी भइरहेको तथा हेटौंडा उपमहानगरपालिका र वडा कार्यलयहरूमार्फत सहयोग जुटाउने काम भइरहेको आलेले बताउनुभयो ।

वाटिकाको डीपीआर तयार गरी काम सुरु गरिएको आलेले बताउनुभयो । वि.सं. २०७५ सालमा मगर संघसंस्था तथा मगर गुठीको सहयोगमा ३३ कठ्ठा जग्गामा तारबार गरिएको थियो ।

पार्कमा प्रथम सहिद लखन थापाको प्रतिमा, तथा बुद्ध भगवानको प्रतिमा बनाउने काम आगामी वर्षमा गरिसक्ने लक्ष्य रहेको लखन वाटिका सञ्चालक समितिका अध्यक्ष विश्व आलेले बताउनुभयो ।

सरकारले २०७२ सालमा लखन थापालाई नेपालको पहिलो सहिद घोषणा गरे पनि थापाको स्मृतिमा कही कतै पार्क तथा प्रतिमा नरहेकोले यो पार्कको अवधारणा ल्याइएको आलेले बताउनुभयो । यस पार्कभित्र मगर सङग्रहालय पनि स्थापना गरिने उहाँले बताउनुभयो ।

यसका साथै पार्कमा वनभोज स्थल बालबालिकाका लागि मनोरञ्जनस्थल बास पार्क मन्दिर स्विमिङ पुल आदि निर्माण गर्ने लक्ष्य रहेको आलेले बताउनुभयो ।

वडा नम्बर १२ र १३ को सीमानामा पर्ने सो पार्क निर्माणका लागि १३ नम्बर वडाले बजेट दिए पनि १२ नम्बर वडाले भने आश्वासन मात्र दिएको तर बजेट नदिएको आलेको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा ५ ओटा विश्राम घर र एउटा हेटौंडा ४ कर्रा निवासी दलबहादुर रानाले आफ्नी छोरी विनिताकुमारी रानाको स्मृतिमा एउटा गरी ६ ओटा विश्रामघर निर्माण भएको छ ।

यसका साथै सभा, समारोह तथा विवाह, व्रतबन्ध लगायतका कार्य गर्नका लागि सभाहल पनि निर्माण भइसकेको छ ।