हेटौंडा, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट विनियोजन गरेको छ । बागमती प्रदेशसभामा मङ्गलबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले ५७ अर्व ७२ करोड भन्दा धेरै रकमको बजेट सार्वजनिक गर्नुभएको हो । कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार बजेट छुट्याइएको जनाइएको छ ।
यसमा पुँजिगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको छ । कुल विनियोजनमा चालु तर्फ ४५ प्रतिशत, पुँजिगत तर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको उहाँले वताउनुभयो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको जनाइएको छ । कोरोना विरुद्धको खोपका लागि २ अर्व रुपैयाँ बजेट विनियोजना गरेको छ । आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८ ०७९ का वजेट सार्वजनिक गर्दै आन्तरिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले यस्तो बताउनुभएको हो । उहाँले कोरोना विरुद्धको खोपमा प्रदेशबासी सबैको पहुँच पुर्याउन प्रदेश प्रमुख कोभिड –१९ खोप कार्यक्रम अन्तर्गत २ अर्व रुपैयाँ छुट्याइएको बताउनुभयो ।
बागमती प्रदेले आम संचार गृह स्थापना गर्न र सञ्चालन गर्न १० करोड बजेट छुट्याएको छ । यसैगरी हेटौडामा प्रदेश सरकारको सुविधा सम्पन्न भवन बनाउन ९७ करोड बजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलको भनाई छ ।
यस्तै, मकवानपुरको भीमफेदी–कुलेखानी सुरुङ्ग मार्ग निर्माणका लागि ७५ करोड बजेट विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेलले हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठासनलाइ आधुनिक र सुविधा सम्पन्न बनाइने घोषणा गर्नुभएको छ ।
आगामि आर्थिक वर्षमा पनि स्थानीय तहका ३ सय ५९ वटा सामुदायिक माध्यमिक विद्यालयहरूमा अहिले कार्यान्वयनमा रहेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको जनाइएको छ ।
बागमती प्रदेशभित्र निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य अवको दुई वर्ष भित्र सम्पन्न गर्न २९ करोड बजेट विनियोजन बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले यो बजेटको व्यवस्था गरिएको हो ।
यस्तै बागमती प्रदेशका दूध उत्पादक किसानका लागि १६ करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।