हेटौंडा, १ असार । इटिएससी नेपाल र टियर फण्डले मकवानपुरको तीन स्वास्थ्य संस्थालाई ८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल, मनहरी अस्पताल र बकैया स्वास्थ्य केन्द्रलाई ह्विल चेयर, बेड, अन्य औषधिसहितको स्वास्थ्य सामग्री प्रदान गरिएको हो । हेटौँडा अस्पताललाई ४ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री अध्यक्ष राजेश प्रसाईलाई इटिएससी नेपालका कार्यकारी प्रमुख सूर्य प्रकाश राईले हस्तान्तरण गर्नु भयो ।

यस्तै, मनहरी अस्पतालमा पनि २ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ भने बकैया स्वास्थ्य केन्द्रलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । संस्थाले मकवानपुरको जिल्ला कोभिड समन्वय समिति, प्रहरी पोष्ट, अन्य आइसोलेसनहरुलाई पनि सहयोग गर्ने कार्यकारी प्रमुख सूर्यप्रकाश राईले बताउनु भयो ।