हेटौंडा १ असार ।
हेटौंडा विकास तथा समन्वय इकाई मकवानपुरले जिल्लाभित्रका विद्यालयलाई विद्यार्थी भर्ना गर्न अनुरोध गरेको छ । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएकाले अब विद्यार्थी भर्ना लिन अनुरोध गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय मकवानपुरले सामाजिक सञ्जालमार्फत विद्यालयहरूलाई विद्यार्थी भर्नाका साथै पाठ्यपुस्तक वितरण गर्न पनि आग्रह गरेको हो ।
नयाँ शैक्षिक सत्रको शुभकामना दिँदै समन्वय इकाईले विद्यालयहरूलाई पाठ्यक्रम तथा पाठ्यपुस्तक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ ।
यसैगरी वैकल्पिक शिक्षण सिकाइलगायतका कार्यहरू पनि मन्त्रालय एवम्ं विभागीय नीति निर्देशन र सम्बद्ध स्थानीय तहको मार्ग निर्देशन बमोजिम गर्नु गराउन अनुरोध गरेको छ ।
यस्तै एसईई २०७७ को मूल्याङ्कन राष्ट्रिय परीक्षा बोर्डको सूचना बमोजिम असार २० गतेभित्र इकाईमा बुझाउन आवश्यक तयारी गर्न पनि इकाईले अनुरोध गरेको छ ।
यसका लागि आवश्यक फरमेट इमेलमार्फत एक दुई दिनभित्र विद्यालयहरूलाई उपलब्ध गराउने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।