हेटौंडा, १ असार ।
कोरोना महामारीको दोस्रो लहरपछि जारी गरिएको निषेधाज्ञाका कारण निश्चत समयमा मात्र सञ्चालन भएका बैङ्कहरू आजबाट नियमित सञ्चालनमा आउने भएका छन् । हाल बन्द रहेका अन्य वित्तीय संस्था तथा इन्स्योरेन्स कार्यालयका सबै शाखाहरू खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएसंगै आजबाट सबै शाखा सञ्चालनमा आउने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको जेठ ३० गतेको बैठकले आजदेखि बैंक, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तीय सहकारी संस्थाहरूबाट प्रदान गरिने सेवाहरू बिहान १० बजेदेखि दिउसो २ बजेसम्म नियमित सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
जनस्वास्थ्यका मापदण्ड पालना गरी भिडभाड नहुने गरेर एक चौथाई कर्मचारीहरूबाट बिहान १०ः०० बजेदेखि २ः०० बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भए पनि वित्तिय तथा सहकारी संस्थाहरूबाट घर दैलोमा गई रकम संकलन गर्ने कार्य भने नगर्न आग्रह गरिएको छ ।
यसअघि हप्तामा आइतबार, मंगलबार र बिहीबारमात्र बैङ्क सञ्चालनमा थिए भने अन्य वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरू पूर्णरूपमा बन्द थिए ।