हेटौंडा, १ असार ।
बागमती प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा वार्षिक बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।

आगामी आर्थिक वर्षका लागि ५४ अर्बको हाराहारीमा बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ । चालु वर्षमा प्रदेश सरकारले ५१ अर्बको बजेट प्रस्तुत गरेकोमा आगामी आथिृक वर्षका लागि खबजेटको आकार केही बढाउन लागिएको हो । आगामी वर्षको लागि संघीय सरकारले बागमती प्रदेशलाई १४ अर्ब ७२ करोड ६८ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको स्रोतले बताएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश अन्तर्गतको सबै अस्पताल र कोभिड केन्द्रित भएर बजेट विनियोजन भएको जानकारी दिनुभयो। उहाले स्वास्थ्य शिक्षा, कृषि, रोजगारी लक्षित नै बजेट आउने बताउनुभएको छ ।

बजेटले कोभिड–१९ सङ्क्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज तथा प्रदेशमा विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको बताइएको छ ।

प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ राख्ने पनि सरकारको तयारी छ ।